काठमाडौँ - राष्ट्रिय समाचार समिति (रासस) कर्मचारी सङ्घले यस वर्षको ‘वासु रिमाल यात्री पुरस्कार’ राससका दुई कर्मचारीलाई प्रदान गर्ने भएको छ। सङ्घको कार्यसमिति बैठकले वरिष्ठ प्राविधिक धीरेन्द्रकुमार दत्त र कार्यालय सहायक केदारप्रसाद तिमल्सिनालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। राससको ६१औँ वार्षिकोत्सवको अवसर पारेर ती पुरस्कार प्रदान गरिने सङ्घले जनाएको छ। पुरस्कारको राशि जनही रु पाँचहजार एक र प्रमाणपत्र रहेको छ।
सङ्घले हरेक वर्ष दुई कर्मचारी पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आएको छ। दत्त राससको प्राविधिक शाखामा आठौँ तहमा कार्यरत छन् भने तिमल्सिना (पाँचौँ तह) कार्यालय सहयोगीको रुपमा लामो समयदेखि सेवा गर्दै आएका छन्।