काठमाडौँ - नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त भएका छन्। युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले महर्जनलाई नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकका रूपमा बुधबार नियुक्त गरेको हो।
महिला खेलाडी अहिले नियमित प्रशिक्षणअन्तर्गत एसियन कपको तयारीका लागि प्रशिक्षणमा रहेका छन्। महर्जनको प्रशिक्षणमा नेपालले चीनमा हुने १९औँ एसियन खेलकुद प्रतियोगितामा सहभािगता जनाउँदै छ।
सातादेखि राखेपले सुरु गरेको एसियाडको तयारीअन्तर्गत महिला फुुटबल टोलीलाई प्रशिक्षक महर्जनले प्रशिक्षण दिइरहेका छन्। मन्त्रालय तथा राखेपले दिएको जिम्मेवारीलाई सहजै स्वीकार गरेको उनले बताएका छन्। महर्जन राखेपका करार प्रशिक्षक हुन्।
महर्जनले प्रशिक्षण करिअरमा पहिलोपटक नेपाली राष्ट्रिय महिला टोली संहाल्ने अवसर पाएका हुन्। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसमेत रहेका महर्जनले सन् २००५ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए।