काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले आगामी निर्वाचनमा विजय हासिल गर्नका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा कांग्रेसले एकताबद्ध भई अघि बढ्नुपर्ने दाबी गरेका छन्।
‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ नामक आफ्नै पुस्तकको विमोचन कार्यक्रममा बोल्दै नेता डा. महतले सभापति देउवाकै नेतृत्वमा पार्टी एकताबद्ध बनाए मात्रै निर्वाचन जित्न सकिने ठोकुवा गरेका हुन्। उनले भनेका छन्, ‘सभापतिले पार्टीलाई एकताबद्ध बनाएर लग्नुभएको छ। कतिपय मतान्तरलाई सम्बोधन गरेर सहमति गराएर लैजान सकेकाले नै पार्टी आजसम्म एकताबद्ध छ।’ त्यसखालको नेतृत्व अरू पार्टीमा नहुँदा विभाजित भएको उदाहरण दिँदै डा. महतले पार्टीको एकतालाई बचाउन कांग्रेसलाई अझै पनि देउवाको खाँचो रहेको बताएका हुन्। उनले भने, ‘नेपाली कांग्रेस एक छ। कांग्रेसलाई एकताको सूत्रमा बाँध्ने सभापतिको क्षमतालाई उपयोग गरेर आगामी निर्वाचन जित्नु छ। त्यसका लागि उहाँको नेतृत्वको आवश्यकता अहिले पनि महसुस गरेका छौँ।’
नेपालको आर्थिक सामाजिक रूपान्तरण गर्न आर्थिक समृद्धि सृजना गरेर समाजवादमा पुग्ने लक्ष्य राख्नुपर्ने उल्लेख गर्दै महतले लोकतान्त्रिक मूल्य मान्यताको आधारशिला तय गरेको खण्डमा मात्र समाजवादमा पुग्न सकिने बताएका छन्।