काठमाडौं – एसियन कप छनोटको तेस्रो चरण खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मैत्रीपूर्ण खेलमा आज (शुक्रबार) क्यामरुनको एभेनिर एफसी डाउलासँग प्रतिस्पर्धा गर्दैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेपछि हुनेछ। यो मैत्रीपूर्ण खेलको लागि मिडिया र दर्शकलाई प्रवेश नदिने बताइएको छ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादका कारण राष्ट्रिय टोलीका सिनियर १० खेलाडी नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितिमा टोलीको नेतृत्व गरिरहेका रोहित चन्द, सुजल श्रेष्ठ, विशाल राई, अनन्त तामाङ, अन्जन विष्ट, विशाल श्रेष्ठ, विमल घर्तीमगर, दिनेश राजवंशी, तेज तामाङ र सुमन लामा टोलीमा हुने छैनन्। प्रशिक्षक अलमुताइरीले उनीहरुको विकल्पमा १४ नयाँ खेलाडीलाई टोलीमा समेट्दै प्रशिक्षण सुरु गरिसकेको छ। त्यही टोलीले नै एभेनिरविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ।
एभेनिरविरुद्ध दीप कार्कीले नेपालको पोस्ट सम्हाल्ने सम्भावना छ। डिफेन्समा शिव गुरुङ, राजन गुरुङ, विकास तामाङ, विकास खवास, सुमन अर्याल र गौतम श्रेष्ठ रहेका छन्। मिडफिल्डमा पुजन उपरकोटी, एरिक विष्ट, सुनिल बल, आयुष घलान, सन्तोष तामाङ, सुशील राई, रुप बहादुर लामा, सेसेहाङ आङ्देम्बे, सुरज ज्यू ठकुरी र आकाश बुढा मगर रहेका छन्। फरवार्डमा मनिष डाँगी, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ र सन्जोक राई रहेका छन्।
क्यामरुनको एभेनिर एफसी डाउला नेपालमा मोफसलको विभिन्न गोल्डकप खेल्न आएको टोली हो। एभेनिरले मोफसलको विभिन्न गोल्डकप खेलेपनि उपाधि भने जित्न सकेको छैन।एसियन कपका लागि नेपालले बैशाख २ बाट प्रशिक्षण थालेको थियो। एसियन कप २०२३ छनोटमा समूह ‘ए’ मा नेपालले जेठ २५ मा जोर्डन, २८ मा कुवेत र जेठ ३१ मा इन्डोनेसियाविरुद्ध कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ ।