गढी - भारतको गुजरातबाट टीकापुर आउँदै गरेको बस लखनउ नजिकै दुर्घटना हुँदा ३ नेपालीसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार पुस २३ गते राति दुर्घटना हुँदा भारतीय बस चालकसहित ४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा टीकापुर नगरपालिका ज्योतिनगरका ४० वर्षीय ललित साउद र व्यवसाय क्षेत्र बस्ने ४५ वर्षीय चन्द्र साउद रहेको र १ जना महिलाको सनाखत हुन नसकेको प्रशासनले जनाएको छ। मृतकका आफन्त भारततर्फ हिँडिसकेको जनाइएको छ।
६६ यात्रु सवार रहेको बसमा १४ जना घाइते भएका छन्। जसमध्ये ३ जना गम्भीर छन्। घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। उनीहरू भारतका विभिन्न सहरबाट घर फर्किरहेका थिए। बसलाई दुईतर्फबाट अन्य दुईवटा बसले ठक्कर दिएको बताइएको छ। भारतको गुजरात, सुरतलगायतका क्षेत्रबाट नेपालीहरु मात्रै ओहोरदोहोर गर्न मिल्ने गरी बस सेवा सञ्चालन हुँदै आएको छ।