काठमाडौँ - इग्ंल्याण्डलाई २०१९को विश्व च्याम्पियन बनाएका इयोन मोर्गनले एकदिवसीय र टि-२० को कप्तानीबाट राजिनामा दिने भएका छन्।
मोर्गनले मंगलबार यसबारेमा घोषणा गर्नसक्ने बताइएको छ। उनी केही समयदेखि फर्ममा नभएको र फिटनेसको समेत समस्याबाट गुज्रीरहेका छन्। अब उनको स्थानमा इग्ंल्याण्डले जोस बटलरलाई कप्तानी दिन सक्नेछ। बेन स्टोक्स भर्खरै टेस्ट क्रिकेटका कप्तान बनेका छन्।
इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी)का अधिकारीका अनुसार मोर्गनले कप्तानी पद मात्र छोड्ने नभई उनले अन्तराष्ट्रिय क्रिकेटबाट समेत सन्यासको घोषणा गर्न सक्नेछन्। दाहिने खुट्टाको चोटले गर्दा उनले लामो क्रिकेट खेल्न नसकेको कारण टोलीको हितलाई ध्यानमा राखेर उनले कप्तानी छोड्दै सन्यास लिने निर्णय गरेका हुन्।
मोर्गन सन् २०१४ मा इग्ंल्याण्डको एकदिवसीय तथा टि-२० क्रिकेटको कप्तानी गर्दै आएका छन्। २०१९मा उनको कप्तानीमा इग्ंल्याण्डले घरेलु मैदानमा एकदिवसीय विश्वकपको उपाधि जितेको थियो। सो उपाधि इग्ंल्याण्डको एकदिवसीय विश्वकपको पहिलो उपाधि पनि हो।
मोर्गन इग्ंल्याण्डका लागि सर्वश्रेष्ठ कप्तान पनि साबित भएका छन्। उनको कप्तानीमा इग्ंल्याण्ड टोलीले १९८ एकदिवसीय खेल खेलेको थियो जसमा एक सय १८ खेल जितेको छ। उनले टी-२० मा ७२ खेलमा कप्तानी गर्दै ४२ खेलमा टोलीलाई जित दिलाएका थिए।
मोर्गनले इङ्ल्यान्ड टोलीमा आउनुअघि आयरल्याण्डका लागि २३ ओडिआई खेल खेलेका छन्।