काठमाडौँ - पुष्प व्यवसायबाट नेपालमा ४१ हजारभन्दा बढी व्याक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन्। नेपालमा लगभग एक हजार ४७ हेक्टर क्षेत्रफलमा ६०० प्रजातिका फूल उत्पादन हुने गरेको छ। व्यावसायिक रुपमा चार सय प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ । जसमा रातो गुलाब १२ प्रजाततीको खेती हुने गरेको छ।
नेपालमा विसं २००७ देखि सुरू भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो छ। फूलको मागमा आएको वृद्धिसँगै काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्प फार्म तथा नर्सरी विस्तार भइसकेको छ। वर्षको तिहारमा १८ लाख ५० हजार मालाको माग थियो। तीमध्ये १५ लाख ५० हजार सयपत्री र तीन लाख मखमली एवं गोदावरी फूलको माला रहेका छन्।
लामो समयदेखि कोरोना भाइरस संक्रमणका कारण दैनिक रु एक करोडको नोक्सान व्यहोरिरहेको पुष्प व्यवसायले अहिले दैनिक करिब रु ७० लाखको कारोबार गर्न थालेको छ। कोरोना महामारी हुनुभन्दा पहिले असोजदेखि फागुन महिना फूलको बढी कारोबार हुने मौसम हो अहिले राम्रोसँग कारोबार हुने समय पनि भएको र कोरोना संक्रमण पनि विस्तारै न्यून हुँदै गइरहेकाले यस व्यवसायले गति समाएको हो।
कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले विगत डेढ वर्षदेखि नै राम्रो आम्दानी गर्न नसके पनि पछिल्लो समय विस्तारै तङ्ग्रिन थालेको छ। कोरोना संक्रमण त्रासकैबीच लामो समयदेखि बन्द रहेको अन्य केही व्यवसाय विस्तारै खुला हुन थालेसँगै यस व्यवसायले पनि लय लिएको छ।