काठमाडौँ । प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ ले आफूहरूले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनेबारे कुनै सोच नबनाएको स्पष्ट पारेका छन्।
उनले भने, ‘यो विषयमा गठबन्धनका सबै नेताहरु नै हामी बडो गम्भीर ढंगले लागेका छौँ, यसमा हाम्रो ध्यानाकार्षण पनि भएको छ। हामी चिन्तित पनि छौँ। हामीले पटक पटक बैठक बसेर यसको छिटोभन्दा छिटो समाधान होस भनेर भनेका छौँ। न्यायालयभित्रैबाट यो समस्या समाधान हुनेछ भन्ने विश्वास लिएका छौँ।’ अध्यक्ष प्रचण्डले यो समस्या अदालतभित्रैबाट समाधान हुने विश्वास लिए। उनले अहिले आफूहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाएर हटाउने भनेर नसोचेको पनि स्पष्ट पारे।
उनले भने, ‘हामीले महाभियोगबारे सोचेका छैनौँ। त्यो हाम्रो गठबन्धनभित्र प्रवेश भएको पनि छैन। र, त्यतातर्फ हामीले सोचेका पनि छैनौँ। बरु हामीले सकारात्मक ढंगले विन विन भन्छ नि, सबैलाई ठीकै हो यो भन्ने समझदारीबाट नै समाधान गर्ने ध्यान छ।’ उनले आफ्नो पार्टीको महाधिवेशनलगत्तै यसबारेमा पहल लिने पनि विश्वास लिए। र, उक्त पहल सबैको विन–विन हुने खालको हुने पनि उनले विश्वास दिलाए ।
अध्यक्ष प्रचण्डले न्यायालयको समस्याबारे आफूहरू चिन्तित रहेको बताउँदै आज आइतबार प्राइम टिभीबाट प्रसारित कार्यक्रम 'जनता जान्न चाहन्छन्' मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो टिप्पणी गरेका हुन्।