काठमाडौँ - विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत न्यूजिल्याण्डविरुद्धको टेस्टमा स्लो ओभर रेटका कारण इङ्ग्ल्याण्डको अंक तालिकामा २ अंक घटेको छ। साथै इङ्ग्ल्याण्डका सबै खेलाडीलाई म्याच शुल्कको ४० प्रतिशत जरिवाना गरिएको छ।
अहिलेसम्म विश्व टेस्ट च्याम्पियनसिपमा इङ्ग्ल्याण्डको १० अंक काटिएको छ। यसअघि एसेज सिरिजको दौरान ८ अंक कटेको थियो। ट्रेन्ट ब्रिज टेस्टमा म्याच रेफ्री रिची रिचर्डसनले कप्तान बेन स्टोक्सलाई औपचारिक सुनुवाइबिना नै स्लो ओभर रेटको लागि दोषी ठहराएका थिए।
मैदानमा रहेका अम्पायर माइकल गफ र पल राइफल, थर्ड अम्पायर रड टकर र चौथो अम्पायर मार्टिन सागर्सले गरेको मूल्याङ्कनपछि आयोजक टोलीले निर्धारित समयमा दुई ओभर घटाउने निर्णय गरेको थियो।
विश्व टेस्ट च्याम्पियनसिपको अंक तालिकामा इङ्ल्यान्डले ट्रेट ब्रिज टेस्टमा जित हात पार्दै ४२ अंक जोडेको छ। तर, सजायपछि ४० अंक भएको छ। योसँगै इङ्ग्ल्याण्ड अंक तालिकाको आठौं स्थानमा रहेको छ।
ओभर रेट सम्बन्धी आईसीसीको नियम अनुसार खेलाडीले निर्धारित समयभित्र बलिङ गर्न नसकेमा प्रतिओभर म्याच शुल्कको २० प्रतिशत जरिवाना तिर्नुपर्छ।
ट्रेन्ट ब्रिज टेस्टमा इङ्ग्ल्याण्डले कीर्तिमानी जित दर्ता गरेको थियो। अन्तिम दिन इङ्ग्ल्याण्डले २९९ रनको लक्ष्य पछ्याएको थियो। इङ्ल्यान्डको टोलीले एक समयमा ४ विकेट गुमाएर ९३ रन बनाएको थियो। तर, त्यसपछि जोनी बेयरस्टो र स्टोक्सबीच १७९ रनको साझेदारी गरेका थिए।
बेयरस्टोले ९२ बलमा १३६ रन बनाएका थिए। उनले ७७ बलमा शतक पूरा गरेका थिए। बेयरस्टो आउट भएपछि स्टोक्स र बेन फक्सले इङ्ग्ल्याण्डका लागि खेल जिताउने साझेदारी गरे। स्टोक्स ७० बलमा ७५ रन बनाएर अविजित रहेका थिए।