काठमाडौँ - पेरिस सेन्ट जर्मन (पीएसजी)ले केलियन एमबाप्पेसँग सम्झौता नविकरण गरेपछि रुष्ट बनेको रियल म्याड्रिड र ला लिगालाई फ्रान्सको घरेलु लिग वान प्रमुखले कडा प्रतिक्रिया दिएका छन्।
भिन्सेन्ट लाब्रुनीले ला लिगाले गरेको आक्रमण अस्वीकार्य रहेको बताएका छन्। ला लिगा क्लब रियल म्याड्रिडले भित्र्याउने चर्चाबीच पीएसजीले आगामी जुनमा सम्झौता सकिन लागेका एमबाप्पेसँग हालसालै मात्र तीन वर्षको नविकरण गरेको थियो।
पीएसजीले एमबाप्पेलाई राखिरहन गरेको अफरले फुटबललाई नै ‘इन्सल्ट’ भएको बताउँदै ला लिगा प्रमुख जेभियर तेबासले त्यसविरुद्ध ईयू, यूईएफएसहितका निकायमा उजुरी गर्ने चेतावनी दिएका थिए।
बिबिसीका अनुसार लाब्रुनीले तेबिासले लेखेको पत्रमा ला लिगाले सँधै लिग वानलाई हेप्ने गरेको दावी गर्दै आफ्नै दुई क्लब रियल म्याड्रिड र बार्सिलोनाको विगत सम्झन स्मरण गराएका छन्। बार्सिलोना र रियल म्याड्रिडको उदाहरण दिएर लाब्रुनीले ला लिगाका व्यवहारको कडारुपमा प्रतिवाद गरेका छन्।
‘ट्रान्सफर फीका सन्दर्भमा यी दुई क्लबले ६ पटक विश्व कीर्तिमान तोडेका छन्। खेलाडीको पारिश्रमिककै विषयमा पनि विश्वका दुई महँगा खेलाडीहरु रियल म्याड्रिडको बेन्चमा छन्’, लाब्रुनीले भनेका छन्।
अहिले पीएसजीमा मेस्सी, नेमार, एमबाप्पेजस्ता होनाहार खेलाडी भएपनि अपेक्षित सफलता दिलाउन सकिरहेका छैनन्। एमबाप्पे लिग वानका पछिल्ला लगातार चार संस्करणका सर्वाधिक गोलकर्ता हुन्।
दुईपटक फ्रान्सको वर्ष फुटबलर घोषित भएका एमबाप्ले सन् २०१८ मा आयोजित विश्वकपमा सर्वोत्कृष्ट युवा खेलाडीको अवार्ड हात पारेका थिए।