काठमाडौँ - गृह मन्त्रालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोट गर्नेबारे मापदण्ड स्वीकृत गरिएको छ। प्रहरी प्रधान कार्यालयले मापदण्ड तयार गरेर स्वीकृतीका लागि गृह मन्त्रालयमा पठाएको थियो।
सोमबार मन्त्रालयले कार्यविधि स्वीकृत गरेको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए। स्वीकृत कार्यविधि अनुसार प्रहरी प्रधान कार्यालयले भदौ २६ मा पत्रिकामा सूचना प्रकाशन गर्नेछ। भदौ ३० देखि असोज ६ सम्म आवेदन दिन सकिने गरि कार्यविधि स्वीकृत भएको डीआईजी राईले जानकारी दिए।
कार्यविधि अनुसार असोज ९ देखि १४ सम्म छनोट प्रक्रिया पूरा गरिसक्नुपर्नेछ। म्यादी प्रहरीको नतिजा चाहिँ असोज २५ मा प्रकाशन गरिने छ।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई पहिलो प्राथमिकता दिनेगरी कार्यबिधि पारित गरिएको छ। गत निर्वाचनमा खटिँदा रेकर्ड राम्रो भएकाहरुले तालिम र परीक्षामा पनि सहुलियत पाउँछन्।
अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न गृह मन्त्रालयलाई सहमति दिएको छ। म्यादीको कार्यवधी ४० दिनको हुनेछ।