काठमाडौँ- ललितपुरको सुनाकोठीबाट गत ९ माघमा हराएको बालकुमारीको मूर्ति शुक्रबार विहान ६ बजे ललितपुर महानगरपालिका १५ स्थित हात्तीवन गैरीगाउँको करुणा मन्दिरबाहिर पेटीमा फेला परेको छ। हराएको २० दिनपछि फेला पारिएको सो मूर्ति शुक्रबार नै बाजा, नाचगान तथा सांस्कृतिक झाँकीसहित खुसीयाली मनाउँदै पूर्ववत् ठाउँमा पुनस्थापना गरिएको छ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) यज्ञविनोद पोखरेलका अनुसार बिहान मन्दिर अगाडि बोरा फेला परेको थियो। स्थानीयले शंकास्पद बोरा देखेपछि प्रहरीलाई खबर गरेकोमा बोराभित्र सुनाकोठीबाट हराएको मूर्ति फेला परेको हो।
मूर्ति हराएपछि सुनाकोठीका स्थानीय बासिन्दा र प्रहरीले खोजी कार्यलाई तीव्र पारेका थिए। मूर्तिको सूचना दिनेलाई ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा पनि गरिएको थियो। सुनाकोठीका स्थानीय बासिन्दा र जनप्रतिनिधिले मूर्तिको खोजीका लागि गृहमन्त्री बालकृष्ण खाँडको समेत ध्यानाकर्षण गराएका थिए।
‘चोरी गरेर लैजाने व्यक्तिमाथि व्यापक खोजी तथा जनदबाब परेकाले त्यसलाई थेग्न नसकेर मूर्ति छाडेर गएको देखिन्छ,’ एसएसपी पोखरेलले भने, ‘सो मूर्ति बोराभित्र राखेर राति नै छाडिएको थियो। बिहान पूजा गर्न जाँदा एक महिलाले शंकास्पद बोरा देखपछि भित्र हेर्दा मूर्ति फेला परेको हो।’
ललितपुर प्रहरी परिसर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले मूर्ति चोरीको अनुसन्धान गरिरहेको थियो। अनुसन्धानका क्रममा प्रहरीले शंकास्पद व्यक्तिलाई ल्याएर सोधपुछ गरे पनि कसैलाई पनि नियन्त्रणमा राखेको थिएन। ‘हामीले मान्छेहरू ल्याएर सोधपुछ गर्ने काम गरिरहेका थियौं,’ एसएसपी पोखरेलले भने, ‘दबाब सिर्जना भएपछि छोडेर गएको जस्तो देखिन्छ।’
मूर्ति भेटिएपछि बिहान १० बजे मूर्तिलाई गुठीका प्रतिनिधिको रोहवरमा प्रहरीले हस्तान्तरण गरेको थियो। त्यसपछि स्थानीयवासीले जावलाखेलबाट पैदल यात्रामार्फत् बाजा, नाचगान तथा सांस्कृतिक झाँकीसहित खुसीयाली मनाउँदै पुनस्र्थापनका लागि सुनाकोठी लगेका थिए। झाँकीमा उल्लेख्य सहभागिता देखिएको थियो।
सो मन्दिरप्रति स्थानीय बासिन्दाको यतिसम्म विश्वास छ कि सुनाकोठीलाई बचाउने र जोगाउने नै बालकुमारी माई हुन्। त्यहाँका बासिन्दा आफूहरूलाई केही भयो भने सुरुमै सोही मन्दिरलाई सम्झन्छन्। कतै चोरी भयो, चोर पत्ता लगाउनुपर्यो भने बालकुमारी माईको कसम खाऊ त भनेर पनि भनिन्थ्यो विगतमा। त्यस्तो भनेपछि झुटो कसम खाने आँट कसैले गर्दैनथे।
बालकुमारी माईको मन्दिरको मूर्ति हराएको थाहा पाउने पहिलो व्यक्ति थिए प्राणनाथ महर्जन। सुनाकोठीका स्थानीय बासिन्दा प्राणनाथको घर बालकुमारी मन्दिरनजिकै छ। उनैले हराएको अघिल्लो साँझ करिब पौने ६ बजे मन्दिर गई आरती गरेका थिए। आरती सकेर ताला लगाई घर फर्केका उनी भोलिपल्ट बिहान ४ बजे नै पूजा गर्न गएका थिए। तर, मूर्ति भने थिएन।
मन्दिरबाट बालकुमारीको पित्तलको मूर्तिबाहेक अरू केही सामान चोरी भएको छैन। मन्दिरका वरिपरि भएका ससाना मूर्ति तथा गरगहना यथावत् अवस्थामा थिए। गुठीकै सबैभन्दा ज्येष्ठ सदस्य ९१ वर्षीय जगत्बहादुर महर्जनका छोरा प्राणनाथले विगत १४ महिनायता मन्दिरको सरसफाइ गर्नेदखि पूजाआजा गर्ने गरिरहेका छन्।
सो मन्दिरको व्यवस्थापन बालकुमारी गुठीले गर्दै आएको छ। गुठीमा ६ सय बढी गुठियार छन्। गुठियारमध्ये सबैभन्दा ज्येष्ठ सदस्य ९१ वर्षीय जगतबहादुर हुन्। गुठीको नियमअनुसार उनी जीवित रहेसम्म उनकै परिवारले मन्दिरको पूजाआजा र सरसफाइलगायत सबै काम गर्नुपर्छ।
यो मन्दिरमा हरेक वर्ष मंसिर पूर्णिमा र चैत पूर्णिमामा जात्रा लाग्ने गर्छ। चोरी भएको मूर्ति २ सय ५० देखि ३ सय वर्ष पुरानो रहेको अनुमान गरिँदै आएको छ।
पटके चोरको संलग्नता आशंका
त्यस दिन मन्दिरको चारवटा ताला फुटाएर मूर्ति चोरी भएको थियो। मूर्ति चोरी भएलगत्तै प्रहरीले खोजी गरेको थियो। तर, मन्दिरमा सीसीटीभी नभएकाले सुरुवाती दिनमा प्रहरीले कुनै क्लु फेला पार्न सकेन।
एकातिर जनदबाब र अर्काेतिर आफ्नै प्रतिष्ठाको विषय बनेपछि महानगरीय प्रहरी कार्यालय ललितपुरले अपराध महाशाखाका एसपी कृष्ण पंगेनीको नेतृत्वमा अनुसन्धान गर्न समिति बनायो। उता ललितपुर प्रहरीले पनि नायव उपरीक्षक (डीएसपी) दीपक भारतीको नेतृत्वमा टोली खटाएको थियो । टोलीले पछिल्ला दिनमा खोजी कार्यलाई आक्रामक रूपमा बढाइरहेको थियो।
खोजी कार्यमा कुनै क्लु भेट्टाउन नसकेर हैरानी बेहोरिरहेको अनुसन्धान टोलीले पछिल्ला दिनमा पटके चोरीमा संलग्न व्यक्तिलाई पनि अनुसन्धानको दायरामा ल्याएको थियो। उनीहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउनुको उद्देश्य थियो, ११ साउन २०७३ मा ललितपुर महानगरपालिका–१ नौडोबहाल देवस्त विहारबाट चोरेको ४ सय वर्ष पुरानो मूर्ति। सो मूर्ति लीलाबहादुर थापा मगरसहितको ६ जनाको समूहले सुटुक्क मंगलबजारमा लगेर छाडेका अनुसन्धानबाट खुलेको थियो।
प्रहरीले २०७३ सालमा चोरी भएको यो मूर्ति र अहिले हराएको मूर्तिको अपराध प्रकृति एउटै भएको निष्कर्षसहित पुराना पटके चोरहरूलाई धमाधम पक्रन थाल्यो। बिहीबार पनि दुई जना पुराना चोरलाई पक्राउ गरिएको थियो। पुराना चोरमाथि दबाब बढाएपछि एक जनाले एक साताभित्र जसरी पनि मूर्ति फेला पर्ने प्रहरीलाई बताएका पनि थिए।
महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाह ‘प्रेसर बढेपछि चोरले मूर्ति फालेको’ आफूहरूको निष्कर्ष रहेको सुनाउँछन्। उनी अब चोरीमा संलग्नहरूलाई पनि छिट्टै पक्राउ गर्ने बताउँछन्। राजधानीदैनिकबाट