काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पार्टी सभापति रवि लामिछानेपछिको वरीयतामा राख्ने सहमति भएको छ। आइतबार बिहान रवि लामिछाने र बालेन शाहबीच भएको ७ बुँदे सहमतिमा हस्ताक्षर भएपछि पार्टीभित्र बालेनको भूमिकाबारे स्पष्टता आएको हो।
सहमति अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने र निर्वाचनपछि संसदीय दलको नेता बनाउने उल्लेख छ। यद्यपि, सहमतिपत्रमा बालेन शाह पार्टीको कुन औपचारिक पदमा रहने भन्ने विषय भने उल्लेख गरिएको छैन।
बालेन निकट केपी खनालका अनुसार बालेनलाई पार्टीमा दोस्रो वरीयता दिने सहमति भएको हो। ‘भावी प्रधानमन्त्रीको उम्मेदवार र संसदीय दलको नेता हुने भएकाले उहाँ पार्टीमा सभापति रवि लामिछानेपछिको वरीयतामा रहनुहुन्छ,’ खनालले बताएका छन्। उनका अनुसार बालेनले वार्ताका क्रममा कुनै पदको माग नगरी देशलाई निकास दिनुपर्ने विषयमा जोड दिएका थिए।
सहमति अनुसार रास्वपाको संगठनात्मक संरचनालाई थप सुदृढ बनाउन युवा अभियन्ता र अनुभवी विज्ञहरूलाई समायोजन गरिने उल्लेख छ। तर केन्द्रीय समितिमा बालेन पक्षबाट कति जना र को–को सहभागी हुने भन्ने विषय भने खुलाइएको छैन।