काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न भक्तपुरस्थित ओली निवास बालकोट पुगेका छन्। मन्त्रिपरिषद्को पूर्णता, सभामुख चयन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन्।
‘केही बेरअघि प्रधानमन्त्री बालकोटा आउनुभएको छ। उहाँहरुबीच वान टु वान कुराकानी भइरहेको छ’, अध्यक्ष ओलीको सचिवालयका एक सदस्यले भने ‘प्रधानमन्त्रीले आज बालकोटमै लञ्च गर्ने कार्यक्रम छ।’ मन्त्रालय भागबण्डा मिलाएर सरकारलाई पूर्णता दिने तयारीमा दुवै नेताले गृहकार्य गरिरहेका छन्।
दुई नेताबीच भागबन्डामा सहमति जुटे आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ। यो बाहेक सत्ता साझेदार दलहरुबीच सभामुख, उपसभामुख र राष्ट्रपति उपराष्ट्रपतिलगायतका विषयमा समेत चासो बढ्दै गएको छ। नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि नेकपा एमाले झस्किन पुगेको छ।