काठमाडौँ - रणवीर कपुर, रश्मिका मन्दाना र अनिल कपुरको मुख्य भूमिका रहने बलिउड फिल्म ‘एनिमल’को लागि अभिनेता विपिन कार्कीले आफ्नो डमी पठाएका छन्।
उनले यसैसाता ‘कबीर सिंह’ फेम्ड निर्देशक सन्दीप रेड्डी भांगालाई संवादसहितको अडियो डमी पठाएका हुन्। भिडियोको लुक्स परीक्षणका लागि उनी आगामी महिना मुम्बई जाने तयारीमा छन्।
‘अडियो डमी पठाएँ र उताबाट यति भए हुन्छ भन्दै प्रशंसा गर्नुभयो’ बिपिनले भने, ‘सकारात्मक जवाफ पाएपछि खुसी छु।’ रामबाबु गुरुङको फिल्म ‘फूलबारी’ छायांकनअघि बिपिन लुक्स टेस्टको लागि मुम्बई जानेछन्।
तर, रणवीरको व्यस्तताका कारण फिल्मको छायांकन १ महिना ढिलाइ भएको कार्कीले बताएका छन्। आफूले बलिउडमा राम्रो काम गर्नुपर्ने चुनौती रहेको भन्दै उनले उद्योगको भविष्यको लागि पनि आफूले मिहिनेत गर्नु जरुरी रहेको बताएका छन्।
फिल्ममा विपिनले खलपात्रमध्येकै एक चरित्र निर्वाह गर्नेछन्। ग्याङस्टर ड्रामामा आधारित हुने फिल्मले पात्रहरुबीचको जटिल सम्बन्ध पेश गर्छ। कसरी मुख्य चरित्र जनावरको स्वभावमा परिणत हुन्छ भन्ने कथावस्तु यसमा रहनेछ।
फिल्म सन् २०२३ को अगस्ट ११ मा प्रदर्शन हुनेछ।