काठमाडौँ - बखुण्डोल बुद्धपार्क निर्माण उपभोक्ता समितिले काभ्रेपलाञ्चोकको धुलिखेलमा बुधवार सामूहिक रुपमा सोनाम ल्होछार अर्थात् नयाँ वर्ष विविध कार्यक्रम गरी धुमधामका साथ मनाएका छन्।
‘ल्होछार’ अर्थात् नयाँ वर्षको अवसरमा झाँक्री विधिअनुसार यो कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष सत्यमान लामाले बताए। “हामीले लामा र झाँक्री विधिबाट पुरानो गाई वर्षलाई बिदाई गरी आजबाट सुरु भएको नयाँ (बाघ) वर्षलाई स्वागतसहित कार्यक्रम आयोजना गरेका हौँ”, उनले भने, “नयाँ वर्षलाई स्वागत गर्दा यो वर्षभरि मुलुकमा सुख, शान्ति र समृद्धि फलियोस् भन्ने कामना गर्दै आजबाट बाघ वर्षलाई स्वागत गरेका हौँ।”
धुलिखेल नगरपालिका–४ का वीरबहादुर लामाले नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्परा कसरी मनाउनुपर्छ भन्ने संस्कार सिकाउनका लागि आयोजना गरेको ल्होछार कार्यक्रम उदाहरणीय भएको बताए। “कतिपयलाई अझै पनि ल्होछार मनाउँदै आएको कतिऔँ वर्ष भयो भनेर समेत थाहा छैन, त्यसको जानकारी दिन पनि यसखालको सामूहिक कार्यक्रमले विधिसहितको संस्कार सिकाउने थलो बनेको छ”, उनले भने, “भावि सन्ततिलाई जानकारी दिलाउनका लागि पनि यसखाले सामूहिक तरिकाले मनाउने ल्होछार कार्यक्रमको आवश्यक छ।”
माघ शुक्ल प्रतिपदाका दिन मनाउने यो पर्व यहाँ बसोबास गर्ने तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाएको हो।