काठमाडौँ - अखिल नेपाल फुटबल खेलाडी संघले प्रिजेन तामाङको उपचारमा सहयोग गर्न अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आग्रह गरेको छ।
उमेर समूहको च्याम्पियन टोलीको सदस्य रहेका प्रिजेन ब्लड क्यान्सरको उपचार गराइसकेका छन्। खेलाडी संघले खेलाडीहरुको तर्फबाट प्रिजेनको शीघ्र स्वास्थ लाभको कामना गर्दै एन्फालाई उपचारमा सहयोग गर्न आग्रह गरेको हो। विक्रमका अनुसार प्रिजेनको हाल भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार भइरहेको छ।
संघका अध्यक्ष विक्रम लामाले सोमबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङलाई सहयोगको आग्रहको पत्र बुझाएका छन्। एन्फा एकेडेमीका उत्पादन प्रिजेन ३ वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) र यु १८ साफ च्याम्पियनसिपको च्याम्पियन टोलीका सदस्य हुन्।
आश लाग्दा युवा खेलाडीले त्रिभुवन आर्मी फुटबल क्लबबाट ललित स्मृति यू १८ च्याम्पियनसिप जितेका थिए। फ्रेन्ड्स क्लबबाट ए डिभिजन लिग खेलेका प्रिजेन नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणको विजेता काठमाडौँ रेजर्सका सदस्य थिए।