सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशमा आज थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ५९० जनाको नमूना परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
आरटी पीसीआरमार्फत तीन र एन्टीजेन विधिमार्फत दुई जनामा सङ्क्रमण पुष्टि भएको हो। पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा दुई र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ। एन्टीजेन विधिमार्फत कञ्चनपुरका दुई जनामा सङ्क्रमण देखिएको हो। यस्तै गएको २४ घण्टामा प्रदेशभर एक जनाले कोरोना जितेका छन्। उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन।
यसअघि मङ्गलबार यस प्रदेशमा १२ जनामा सङ्क्रमण पुष्टि हुँदा सात जना निको भएका थिए। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६०९ जनाको ज्यान गइसकेको छ।