काठमाडौँ - मुलुककै महत्त्वाकाङ्क्षी परियोजनाका रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको सुरुङ खन्ने काम आधा सकिएको छ। थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले सुरुङ खन्ने काम ५० प्रतिशत सकिएको जानकारी दिए। उनले नागढुङ्गा (पूर्व) र नौबिसे (पश्चिम)तर्फबाट सुरुङ खन्ने काम तीव्र गतिमा भइरहेको पनि बताए।
अहिलेसम्म मुख्य सुरुङमार्गको पूर्वतर्फ ५८० मिटर र पश्चिमतर्फ ५८१ मिटर खनिएको छ । मुख्य सुरुङको कुल लम्बाइ दुई हजार ६८८ मिटर रहेको छ। दुई हजार ५५७ मिटर कुल लम्बाइरहेको सहायक (इभ्याकुएसन) सुरुङको अहिलेसम्म एक हजार ४१३ मिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ। सहायक सुरुङको पूर्वतर्फ ८२२ मिटर र पश्चिमतर्फ ५९१ मिटर खनिएको छ। सुरुङ मार्गभित्र सिर्जना हुनसक्ने आपत्कालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङ मार्गको समानान्तर हुने गरी सहायक सुरुङ मार्ग निर्माण गरिएको हो। आजको गोरखापत्र दैनिकमा समाचार छ ।