काठमाडौँ - बंगलादेशको राजधानी ढाकामा जारी शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसिपमा नेपाली टिमले मध्यम प्रदर्शन गरिरहेको छ। बिहीबार साँझ सम्पन्न लिग चरणको पहिलो खेलमा भुटानलाई ४-० को हराउन सफल नेपाल शुक्रबार मालदिभ्ससँग २.५-१.५ ले पराजित भयो।
भुटानविरुद्धको पहिलो खेलमा नेपालका फिडेमास्टर रिजेन्द्र राजभण्डारीले भुटानका कर्मा सोनामलाई हराएका थिए भने अर्का फिडेमास्टर विलमलाल श्रेष्ठले विनोद राई माथि जित हात पारेका थिए। त्यसै गरी सिंगेश्वर दासले सोनाम छोदेन तथा राजेन्द्र बज्राचार्यले निदुप सांगेलाई पराजित गर्न सफल भएका थिए।
दोस्रो राउण्डको खेलमा नेपालका सिंगेश्वर दासले माल्दिभ्सका अमन ईब्राहिम अहमदमाथि सानदार जित हात पारेका थिए भने फिडेमास्टर विलमलाल श्रेष्ठले क्यान्डिडेटमास्टर मोहमद हसनसँग बराबरीको नतिजा निकालेका थिए। उता फिडेमास्टर रिजेन्द्र राजभण्डारी र राजेन्द्र बज्राचार्य क्रमशः फिडेमास्टर मुहम्मद सुहाउ एवं क्यान्डिडेटमास्टर अब्दुल रहमान अलीसँग पराजित हुन पुगेका थिए।
२ राउण्डको खेल सकिँदा बंगलादेश ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने २ अंक बनाएको नेपाल दोस्रो स्थानमा उक्लेको छ। आयोजक बंगलादेश सहित नेपाल, भुटान, श्रीलंका, मालदिभ्स र पाकिस्तानको सहभागिता रहेको प्रतियोगिता राउण्ड रोविन प्रणाली अनुसार २ चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा उत्कृष्ट हुन सफल ३ टिमले सुपर लिगमा प्रवेश पाउनेछन्। सुपर लिगबाट प्रतियोगिताको विजेता निर्धारण हुनेछ।
सुपर लिगमा प्रथम हुने टोलीले ४ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन्। त्यसै गरी दोस्रो हुने टोलीले ३ हजार अमेरिकी डलर, तेस्रो हुने टोलीले २ हजार तथा चौथो स्थानमा रहने टोलीले १ हजार अमेरिकी डलर नगद हात पार्नेछन्।