काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध मंगलबार एक किशोरीले बलात्कारको आरोप लगाउँदै गौशाला वृत्तमा उजुरी दर्ता गरेकी छिन्।
उजुरी दर्ता भएसँगै प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। उनीविरुद्ध आरोप लागे पनि तत्काल नै पक्राउ गर्न नसकिने प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले जानकारी दिएका छन्।
उनले भने, ‘उनि अहिले देशबाहिर छन्, हामीले अनुसन्धान अधिकृतहरू खटाएका छौँ। अहिले नै पक्राउ गर्छौँ भनेर भन्न सकिँदैन। प्रमाण जुट्नासाथ हामीले पक्राउ गर्छौँ, जाहेरी पर्नेबित्तिकै पक्राउ गर्नुपर्छ भन्ने हुँदैन।’
यद्यपि लामिछाने प्रहरीको निगरानीमा भने रहेको प्रवक्ता राईले बताएका छन्। ‘उनि राज्यको निगरानीमा छन्। अनुसन्धानलाई सहयोग नगरेको खण्डमा उनलाई नै असहज हुने हो। हामीलाई लाग्छ उनि स्वयं उपस्थित हुनेछन्। त्यसो नभएको खण्डमा इन्टरपोलमार्फत झिकाउने वा अन्य तरिकाबाट झिकाउने कुरा त छँदैछ,’ प्रवक्ता राईले भने।
सन्दीप अहिले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि वेस्ट इण्डिजमा छन्। प्रहरीमा दर्ता भएको उजुरीमा किशोरीले केन्या जानुअघि ५ भदौमा आफूलाई बलात्कार गरेको उल्लेख गरेकी छिन्।
सन्दीप ६ भदौमा टी-२० सिरिजका लागि केन्या गएका थिए। उनी टी-२० सिरिज खेलेर उतैबाट वेस्ट इण्डिज गएका हुन्।