काठमाडौँ - दक्षिण अफ्रिकाले सानदार बलिङ गर्दै आइसिसी टि-२० विश्वकप अघि वार्मअप खेलमा न्युजिल्यान्डमाथि ९ विकेटको सहज जित हात पारेको छ।
जितको लागि ९९ रनको सामान्य विजयी लक्ष्य दक्षिण अफ्रिकाले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो। दक्षिण अफ्रिकाका राइली रोसोउले ३२ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ५४ रनमा अविजित रहेका थिए। एडेन माक्ररम १६ रनमा अविजित रहे।
रिजा हेन्ड्रिक्सले २४ बलमा ४ चौका र १ छक्कासहित २७ रनमा आउट भएका थिए। न्युजिल्यान्डका ईश सोधीले १ विकेट लिए। त्यसअघि ब्रिस्बेनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्ड १७.५ ओभरमा ९८ रनमा अल आउट भएको थियो।
न्युजिल्यान्डका मार्टिन गुप्टिलले २३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २६ रनमा आउट भए। ग्लेन फिलिप्सले १८ बलमा २ चौका र १ छक्कासहित २२ रन बनाएका थिए।
दक्षिण अफ्रिकाको उत्कृष्ट बलिङ सामू न्युजिल्यान्डका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। युवा ब्याटर फिन एलेन ६, कप्तान केन विलियम्सन ३, मार्क च्यापम्यान ४, माइकल ब्रसवेल ११, मिचेल सान्टनार ४ र एडम मिल्नेले ९ रन बनाएका थिए।
दक्षिण अफ्रिकाका केशव महाराजले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिएका थिए। वेन पार्नेल र तबरेज शाम्सीले २/२ विकेट लिएका थिए। त्यस्तै कागिसो रबाडा र एडेन माक्ररमले १/१ विकेट लिएका थिए।