काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले टि–२० विश्वकपको ट्रफी नेपाल आगमन देशका लागि गौरवपूर्ण र ऐतिहासिक क्षण भएको बताएका छन्। यसले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अघि बढिरहेको सन्देश अन्तर्राष्ट्रिय स्तरमा प्रवाह गरेको राष्ट्रपति पौडेलको भनाइ छ।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विश्वकप ट्रफी सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल खेलप्रेमी राष्ट्रका रूपमा सशक्त रूपमा स्थापित हुँदै गएको उल्लेख गरे। क्रिकेटले राष्ट्रिय एकता मजबुत बनाएको र यसको व्यावसायिक विकाससँगै नेपाली युवाहरूको भविष्य निर्माणका सम्भावना थप सुदृढ बन्दै गएको उनले बताए।
“नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा चिनिँदै गएको छ। आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुनु खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत हो,” राष्ट्रपति पौडेलले भने।
नेपालमा विश्वकप ट्रफी ल्याएर नेपाली क्रिकेट र जनतामा उत्साह तथा आत्मविश्वास अभिवृद्धि गरिदिएकोमा उनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रति धन्यवाद व्यक्त गरे। साथै, नेपाली क्रिकेटले अझ उच्च सफलता हासिल गरोस् भन्ने कामना गर्दै खेलाडीहरूले विश्वमञ्चमा देशको गौरव बढाउने विश्वास व्यक्त गरे।
राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन गइरहेको महिला विश्वकप छनोट प्रतियोगिता तथा भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० विश्वकपमा सहभागी हुने नेपाली महिला र पुरुष राष्ट्रिय टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना पनि व्यक्त गरे।