काठमाडौं । भेनेजुएलामा प्रत्यक्ष सैन्य हस्तक्षेप गरी राष्ट्रपति निकोलस मदुरोलाई गिरफ्तार गरेपछि अमेरिकाको आगामी कदमबारे अन्तर्राष्ट्रिय समुदायमा गम्भीर चासो बढेको छ। विशेषगरी पश्चिमी गोलार्धका देशहरू अब अमेरिकाको सम्भावित निशानामा पर्न सक्ने विश्लेषकहरूको ठहर छ।
भेनेजुएलापछि मेक्सिको, कोलम्बिया र क्युबा अमेरिकाको प्राथमिक निगरानी सूचीमा रहेको संकेत राष्ट्रपति डोनाल्ड ट्रम्पका पछिल्ला अभिव्यक्तिबाट स्पष्ट देखिन्छ।
ट्रम्प प्रशासनले मेक्सिकोलाई लागूपदार्थ तस्करी र गैरकानुनी आप्रवासनको मुख्य स्रोतको रूपमा चित्रित गर्दै आएको छ। मेक्सिकन राष्ट्रपति क्लाउडिया शाइनबाउममाथि प्रत्यक्ष आलोचना गर्दै ट्रम्पले “मेक्सिको कार्टेलहरूले चलाइरहेका छन्” भन्ने अभिव्यक्ति दिएका छन्। ट्यारिफ, सीमा सुरक्षा र ड्रग नियन्त्रणलाई बहाना बनाएर अमेरिकाले मेक्सिकोमाथि थप दबाब बढाउन सक्ने संकेत देखिन्छ।
न्युयोर्क पोस्टलगायत अमेरिकी सञ्चारमाध्यमलाई उद्धृत गर्दै आएका विवरणअनुसार ट्रम्पले कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोमाथि कोकेन उत्पादन र तस्करीलाई संरक्षण गरेको आरोप लगाएका छन्। यसअघि पनि ट्रम्पले पेत्रोलाई ‘समस्या सिर्जना गर्ने नेता’ भन्दै चेतावनी दिँदै आएका थिए, जसले कोलम्बिया अमेरिकाको अर्को सम्भावित निशानामा पर्न सक्ने देखाउँछ।
क्युबाबारे ट्रम्पले प्रयोग गरेको भाषा झनै अर्थपूर्ण देखिन्छ। उनले क्युबाको वर्तमान राजनीतिक प्रणाली असफल भएको दाबी गर्दै “क्युबामा केही यस्तो हुन गइरहेको छ, जसबारे हामी कुरा गर्नेछौँ” भनेका छन्। यसले क्युबामा राजनीतिक वा कूटनीतिक हस्तक्षेपको सम्भावनालाई बल दिएको छ।
ट्रम्पले “पश्चिमी गोलार्धमा अमेरिकी प्रभुत्वमाथि अब कहिल्यै प्रश्न उठ्ने छैन” भन्ने अभिव्यक्तिसँगै अमेरिकाले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा आफ्नो प्रभाव बलपूर्वक विस्तार गर्ने रणनीति अघि सारेको संकेत दिएका छन्।
विज्ञहरूका अनुसार, भेनेजुएलामा गरिएको कारबाही कुनै एक देशमात्र लक्षित कदम होइन, बरु पश्चिमी गोलार्धमा अमेरिकी वर्चस्व पुनःस्थापित गर्ने दीर्घकालीन रणनीतिक संकेत हो। त्यसैले अब प्रश्न केवल “भेनेजुएलापछि कुन देश?” होइन, “कुन देश सुरक्षित छ?” भन्नेमा रूपान्तरित हुँदै गएको छ।