काठमाडौँ - गएराति सम्पन्न इण्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को उपाधि नवप्रवेशी गुजरात टाइटन्सले जित्यो। उसले पुरानो टोली राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै आफ्नो डेब्यु सिजनमै उपाधि जितेको हो।
सिजनको सुरुवातमा धेरै क्रिकेट विश्लेषकले गुजरातलाई उपाधि दावेदारको रूपमा हेरेका थिएनन्। तर, उसले सिजन अवधिभर नै उत्कृष्ट खेल्यो। यता उपविजेता बनेको राजस्थानका लागि पनि आइपिएल २०२२ राम्रो रह्यो। राजस्थानलाई फाइनल पुर्याउन ब्याटर जोस बटलर र स्पिनर युजवेन्द्र चहलको भूमिका अहम रह्यो। बटलर यो सिजनमा सर्वाधिक रन बनाउने ब्याटर बन्दा चहलले सबैभन्दा बढी विकेट लिएका थिए ।
आइपिएलमा सर्वाधिक रन बनाउने ब्याटरलाई ओरेन्ज क्याप दिने चलन रहेको छ। यसपालि बटलरले १७ खेलमा चार शतक र चार अर्धशतकको सहयोगमा सर्वाधिक ८६३ रन बनाउँदै ओरेन्ज क्याप जित्न सफल भए । उनी आइपिएल इतिहासमा विराट कोहली (९७३) पछि एक सिजनमा सर्वाधिक रन र शतक बनाउने ब्याटरमा दोस्रो नम्बरमा छन् ।
बटलरले ओरेन्ज क्यापसँगै मोस्ट भ्यालुएबल प्लेयर, क्रेड पावर प्लेयर अफ द सिजन, ड्रिम इलावेन गेम चेन्जर, सर्वाधिक छक्का (४५) र सर्वाधिक चौका (८३) हिर्काउने अवार्ड पनि हात पारेका छन्। उनले लामो समयदेखि राजस्थानका लागि खेल्दै आएका छन्। बटलरलाई राजस्थानले रिटेन गरेका थियो। उनलाई फुकुवा नगर्ने राजस्थानको निर्णय सही सावित भयो।
त्यस्तै, राजस्थानलाई फाइनलमा पुर्याउन स्पिनर युजवेन्द्र चहलको भूमिका पनि महत्वपूर्ण रह्यो। पहिलोपटक पर्पल क्याप जितेका उनले आइपिएल २०२२ मा १७ खेलमा सर्वाधिक २७ विकेट लिएका छन्।
त्यस्तै, परफेक्ट क्याच अफ द सिजनको अवार्ड लखनऊ सुपरजायन्ट्सका इभिन लुइसले जिते। सिजनको सबैभन्दा तीव्र गतिमा बलिङ गर्ने रेकर्ड गुजरात टाइटन्सका लकी फर्ग्युसनको नाममा बन्यो। उनले फाइनलमा राजस्थानविरुद्ध १५७.३ किलोमिटर प्रतिघण्टाको गतिमा फल फ्याँकेका थिए।
सुपर स्ट्राइकर अफ द सिजनको अवार्ड रोयल च्यालेन्जर्स बैंगलोरका दिनेश कार्तिकले जितेका छन्। उनले यसपालि १८३.३ स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए। इमर्जिङ प्लेयर अफ द सिजन सनराईजर्स हैदराबादका उमरान मलिको नाममा रह्यो। फेयर प्ले अवार्ड राजस्थान र गुजरात दुवैले जितेका छन्।