काठमाडौँ - क्रिस्टियानो रोनाल्डोले पुनरागमनमा गोल गर्दा म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा बिहीबार राति सेरिफलाई ३-० ले पराजित गरेको छ।
टोटनहमविरुद्ध वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्न अस्वीकार गरेपछि गत साता चेल्सीविरुद्धको खेलमा ड्रप भएका रोनाल्डो युरोपा लिगका लागि टिममा फर्केका थिए। रोनाल्डोले घरेलु मैदान ओल्ड ट्राफोर्डमा ८१औं मिनेटमा गोल गर्दै युनाइटेडको ३-० को जित पक्का गरेका थिए। रोनाल्डोको यो ७०१औं करियर गोल हो।
त्यसअघि डिएगो डालोटले ४४औं र मार्कुस रासफोर्डले ६५औं मिनेटमा गोल गरेका थिए। जितपछि समूह ई युनाईटेडले ५ खेलबाट १२ अंक जोडेको छ र दोस्रो स्थानमा रहेको छ। रियल सोसिडाड १५ अंकसहित समूह ई को शीर्ष स्थानमा रहेको छ।