दाहसंस्कारमा गएका दुई युवाको डुबेर मृत्यु

बाँके - बाँकेको राप्ती नदीमा दाहसंस्कारका लागि गएका दुई युवाको डुबेर मृत्यु भएको छ।

हुम्लाको सिमकोट–८ घर भई हाल नेपालगन्ज–१, धम्बोझीमा भाडामा बस्दै आएका १८ वर्षीय त्रिबल शाही र लेकराज छन्तेल आज बिहान राप्ती नदीमा मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।

उनका अनुसार बुधबार घरभेटीको दाहसंस्कारमा गएका उनीहरू घर नफर्केपछि साँझ ६ बजे खोजतलास गर्दा नदीको छेउमा दुईजोर कपडा र एकथान मोबाइल फेलापरेको थियो। पौडी खेल्ने क्रममा नदीमा डुबेको आशंका गरिएको छ।

बिहीबार बिहानै खोजतलासमा खटिएको प्रहरी टोलीले डुडुवा गाउँपालिका–४ स्थित सिधनियाघाट राप्ती नदीमा उनीहरूको शव फेलापारेको हो। हुम्लाबाट अध्ययनका लागि नेपालगन्ज आएका उनीहरूले यसै वर्ष यहाँस्थित धम्बोझी माविबाट कक्षा–१२ को परीक्षा दिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×