काठमाडौँ - नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा सूर्य नेपाल गल्फ टुर, २०२२-२०२३ को सिजन मंगलबारदेखि सुरू हुँदैछ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा विभिन्न ८ प्रतियोगिता समावेश टुरअन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपन मंगलबारदेखि आरएनजीसीमा हुने आयोजकका महासचिव दीपक आचार्यले जानकारी गराएका हुन्।
४ दिनसम्म चल्ने प्रतियोगितामा ३१ व्यवसायिक र ५ एमेच्योर खेलाडीको सहभागिता रहनेछ। प्रतियोगिताको कूल पुरस्कार राशी ६ लाख ७० हजार रुपैयाँ रहेको छ।
डिसेम्बर २१ देखि २४ तारिखसम्म धरानमा सूर्य नेपाल इस्टर्न ओपन, जनवरी १६-१९ तारिखसम्म गोकर्णमा सूर्य नेपाल सेन्ट्रल ओपन, फेब्रुअरी १ देखि ३ तारिखसम्म आरएनजीसीमा सूर्य नेपाल एनपीजीए म्याच प्ले, फेब्रुअरी २२ देखि २५ तारिखसम्म पोखरामा सूर्य नेपाल वेस्टर्न ओपन, मार्च १४ देखि १७ तारिखसम्म आरएनजीसीमा सूर्य नेपाल च्यालेन्ज, अप्रिल १८-२१ तारिखसम्म गोकर्णमा सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप र मे ८-१२ तारिखसम्म गोकर्णमा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुनेछ।
८ प्रतियोगिताको कूल पुरस्कार राशी ६१ लाख ८५ हजार रुपैयाँ छ। इस्टर्न ओपन, सेन्ट्रल ओपन, वेस्टर्न ओपन र एपीएजीए टुरको पुरस्कार राशी समान ८-८ लाख रुपैयाँ छ। एनपीजीए म्याच प्लेको २ लाख ५० हजार, नेपाल च्यालेन्जको ५ लाख ४५ हजार र प्रिमियर गल्फको १५ लाख २० हजार रुपैयाँ पुरस्कार राशी छ।
एसोसिएसनका अध्यक्ष श्रेष्ठले युवा खेलाडीको उत्कृष्ट प्रदर्शन हेर्न उत्सुक रहेको बताउँदै निरन्तर सहयोगका लागि सूर्य नेपाल प्रा.लि.लाई धन्यवाद दिएका छन्।