काठमाडौँ- निर्वाचन आयोगले स्थानीय चुनावको मिति घोषणा नहुँदासम्म फोटोसहितको मतदाता नामावली संकलन जारी राख्ने भएको छ। आयोगका प्रवक्ता शालिग्राम पौडेलले कानुनअनुसार मिति घोषणा भएको दिनसम्मको मात्रै विवरण अद्यावधिक गरी अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिए।
सरकारले निर्वाचन आयोगले स्थानीय चुनावका लगि प्रस्ताव गरेको जेठ ४ लाई घोषणा गर्ने सम्भावना छ। आयोगले ७ सय ५३ स्थानीय तहकै निर्वाचन एकै चरणमा गर्नुपर्ने प्रस्ताव गरेको छ। प्रस्तावलाई सरकारले सकारात्मक रूपमा लिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ। सरकारले यही साता चुनावको मिति घोषणा गर्न सक्ने एक मन्त्रीले बताए।
स्थानीय चुनावलाई लक्ष्य गरेर आयोगले विशेष अभियान सञ्चालन गरी गत मंसिर १७ देखि १९ सम्म पालिकास्तरमै प्राविधिक खटाएर नामावली संकलन गरेको थियो। उक्त अभियानबाट ८ लाख ४८ हजार थप मतदाताको विवरण संकलन भएको आयोगले जनाएको छ। यस अभियानमा १६ वर्ष पुगेकाको विवरण पनि समेटिएकाले मताधिकार प्राप्त १८ वर्ष उमेर पुगेकाको संख्या यकिन भइसकेको छैन। अभियान सकिए पनि ७७ निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन, ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भइरहेको आयोगले जनाएको छ।
२०७७ पुस ५ सम्म मतदाताको संख्या १ करोड ६२ लाख ४३ हजार १ सय १० थियो। यसमा १० लाख मतदाता थपिएको अनुमान प्रवक्ता पौडेलले बताए। २०७४ को स्थानीय चुनावमा १ करोड ४० लाख ७४ हजार ४ सय २४ जना मतदाता थिए। २०७४ वैशाख ३१ मा स्थानीय चुनाव गर्न सरकारले २०७३ फागुन ९ मा मिति घोषणा गरेको थियो।
यस पटक आयोगले १ सय २० दिन समय मागे पनि मतदाता नामावली संकलन, मतदान स्थल, केन्द्रको पुनरावलोकन र निर्धारणको काम सकिएकाले जेठ ४ भित्र चुनाव गर्न सकिने सरकारलाई जानकारी गराइसकेको छ। जेठ ४ आउन १ सय ५ दिन बाँकी छ । संविधानअनुसार स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ। त्यसैले आयोगले कार्यकाल सकिने अघिल्लो दिन चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको हो। आजको कान्तिपुरमा खबर छ।