बागलुङ - बागलुङका दसवटै स्थानीय तहले आव ०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन्। बरेङ गाउँपालिकाले सोमबार, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले बिहीबार र अरु पालिकाले शुक्रबार बजेट प्रस्तुत गरेका हुन्।स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने सयमसीमा तोकिदिएको छ। बजेटको प्राथमिकतामा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनलगायत छन्।
कतिपय पालिकाले उद्यमशीलताको विकास, उत्पादन र रोजगारी सिर्जनातिर बढी जोड दिएका छन्। अधिकांशले पुरानै योजनालाई निरन्तरता दिइएपनि केही नवीन र सिर्जनात्मक कार्यक्रमलाई पनि बजेटमा समावेश गरिएको छ। सबैभन्दा ठूलो बजेट बागलुङ नगरपालिकाको छ। उपप्रमुख राजु खड्काले रु एक अर्ब ३१ करोड ११ लाख ७९ हजार रुपैयाँको बजेट शुक्रबार नगरसभामा प्रस्तुत गरेका हुन्। बागलुङले गत आवको भन्दा २५ करोड बढीको बजेट ल्याएको छ। गत आवमा रु। एक अर्ब पाँच करोडको बजेट प्रस्तुत गरिएको थियो।
आगामी आवमा चालुतर्फ रु। ८४ करोड ५२ लाख, पूँजीगततर्फ रु४५ करोड ३७ लाख र वित्तिय व्यस्थातर्फ रु। एक करोड २२ लाख विनियोजन गरिएको छ। उद्यमशीलता प्रवद्र्धन र श्रम बैंक स्थापनाका लागि रु। ४१ लाख बजेट छुट्टाइएको छ। कृषिलाई रु। ५२ लाख २५ हजार र पशुपालनमा रु। २१ लाख ५० हजार विनियोजन गरिएको छ। सबैभन्दा बढी पूर्वाधारतर्फ रु। १६ करोड ३८ लाख बजेट छुट्टाइएको छ। बजेटको ठूलो हिस्सा शिक्षा र स्वास्थ्य क्षेत्रले पनि ओगटेको छ। शिक्षा क्षेत्रका लागि रु। दुई करोड ६७ लाख ७२ हजार र स्वास्थ्यतर्फ रु। दुई करोड ११ लाख ६८ हजार बजेट छ।
यस्तै गलकोट नगरपालिकाले रु। ६८ करोड ७५ लाख ३९ हजारको बजेट सार्वजनिक गरेको छ। गलकोटले कृषि, बागबानी र पशुपंक्षी विकासलाई प्राथमिकता दिएको छ। जस्मा रु। दुई करोड ३० लाख ५० बजेट विनियोजन गरिएको छ। पूर्वाधार विकासमा रु। सात करोड ६६ लाख, आर्थिक विकासतर्फ रु। दुई करोड ४९ लाख, सामाजिक विकासमा रु। चार करोड ८२ लाख ३९ हजार बजेट छुट्टाइएको नगरउपप्रमुख फमलाल निउरेले जानकारी दिए। गलकोटले स्थानीय उत्पादनको बजारीकरणदेखि ज्येष्ठ नागरिकलाई चाडपर्व भत्ता दिनेसम्मका कार्यक्रम ल्याएको छ।
काठेखोला गाउँपालिकाले रु। ५४ करोड ९१ लाख २३ हजार रुपैयाँको बजेट तथा कार्यक्रम शुक्रबार गाउँसभामा प्रस्तुत गरेको छ। उक्त गाउँपालिकाले सामाजिक विकासतर्फ रु। दुई करोड २६ लाख ५० हजार, आर्थिक विकासमा रु। एक करोड ६८ लाख र पूर्वाधारतर्फ रु। ५७ लाख बजेट विनियोजन गरेको छ। कृषि तथा पशुपालनका लागि रु। ७२ लाख छुट्याइएको छ भने शिक्षा र स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले उल्लेख गरे।
बरेङ गाउँपालिकाको बजेट रु। ४० करोड ३३ लाख ५६ हजारको छ। उक्त गाउँपालिकाले पनि कृषि र पशुपालनमा बढी जोड दिएको देखिन्छ। ‘बरेङमा समृद्धि, कृषिमा लगानी’ कार्यक्रमका लागि रु। ६३ लाख ५५ हजार बजेट विनियोजन गरिएको छ भने पशुपालनतर्फ रु। ६९ लाख बजेट छ। अभिभावकविहीन बालबालिकालाई माध्यमिक तहसम्म निःशुल्क पढाउन अलग्गै कोषसमेत स्थपाना गरिएको गाउँपालिकाले जनाएको छ।
ताराखोला गाउँपालिकाले रु ३६ करोड ६६ लाख ९२ हजारको बजेट ल्याएको छ। उक्त गाउँपालिकाले पनि कृषि र पशुपंक्षीको उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित बजेट बजेट ल्याएको हो। गाउँपालिकाका उपाध्यक्ष भिमबहादुर रोकाका अनुसार कृषि विकासतर्फ रु। एक करोड ५६ लाख २५ हजार बजेट विनियोजन गरिएको छ।यस्तै पशुपंक्षीमा रु। एक करोड १९ लाख ६० हजार बजेट छुट्टाइएको छ। दुग्ध सङ्कलन केन्द्र स्थापना, दुग्धजन्य पदार्थको उत्पादन, भण्डारण, विविधिकरण र बजारीकरणका लागि रु। ८० लाख बजेट छुट्याइएको छ। व्यावसायिक कृषितर्फ किसानलाई आकर्षण गर्न आर्थिक सहायताका साथै कृषि बीमामा अनुदान दिइने गाउँपालिकाले जनाएको छ।
बाँझो जग्गालाई भाडामा लिई खेती गर्ने किसानलाई प्रतिरोपनी वार्षिक रु। दुई हजारका दरले प्रोत्साहन रकम प्रदान गरिने भएको छ। कृषि औजार, उपकरण र प्रविधि हस्तान्तराणमा पनि ताराखोलाले जोड दिएको छ। कृषि उपजको सङ्कलन केन्द्र स्थापना र बजारीकरणका लागि रु। ९० लाख बजेट विनियोजन गरिएको छ।
ताराखोलाले सामाजिक विकासमा रु। दुई करोड ३६ लाख ३२ हजार, पूर्वाधारतर्फ रु। पाँच करोड १२ लाख २० हजार र आर्थिक विकासतर्फ रु। तीन करोड ९२ लाख ५० हजार बजेट विनीयोजन गरेको छ।
तमानखोला गाउँपालिकाले रु। ३१ करोडको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। बजेट शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यमशीलता विकास र रोजगारी सिर्जनामा केन्द्रित छ। ढोरपाटन नगरपालिकाले रु। ५१ करोड ४० लाख र जैमिनी नगरपालिकाले रु। ७० करोड ७३ लाख ७३ हजारको बजेट प्रस्तुत गरेको छ। निसीखोला गाउँपालिकाले रु। ४९ करोड ५२ को बजेट ल्याएको छ। उक्त गाउँपालिकाले निःशुल्क स्वास्थ्य बीमा, एम्बुलेन्स सेवा सञ्चालनजस्ता स्वास्थ्य सेवाको सुधारका साथै पूर्वाधार, कृषि र पर्यटनमा पनि प्राथमिकता दिइएको छ।
बडिगाड गाउँपालिकाले रु ६७ करोड ६७ लाख ४९ हजारको बजेट सार्वजनिक गरेको छ। चालुतर्फ रु। ४४ करोड ४८ लाख र पुँजीगततर्फ रु। २३ करोड १९ लाख बजेट विनियोजन गरिएको हो। गाउँपालिकाले खरका छाना हटाउन रु। एक करोड बजेट छुट्टाएको छ। खानेपानी आयोजनाका लागि रु। दुई करोड ८५ लाख ५७ हजार छुट्याएको छ। सडक पूर्वाधार, शिक्षा, कृषि, पर्यटन, फोहोरमैला व्यवस्थापनलगायत क्षेत्र बजेट तथा कार्यक्रममा समेटिएका छन्। कानुनद्वारा तोकिएको सयमसीमाभित्र नीति, कार्यक्रम र बजेट ल्याएका स्थानीय तहले गाउँ/नगरसभामा आवश्यक छलफलपछि असार २५ भित्र बजेट पारित गर्ने भएका छन्।