काठमाडौं । राष्ट्रियसभा सदस्य चयनका लागि हुने निर्वाचनमा ४३ जनाको उम्मेदवारी परेको छ ।
आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चयनको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन भएको हो । निर्वाचन आयोगले तोकेको समयभित्र आज विभिन्न ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दिएका छन् । आयोगको निर्वाचन कार्यतालिका अनुसार आज सातवटै प्रदेशको निर्वाचन कार्यालय पुगेर विभिन्न दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । प्रतिपक्षी दल एमालेले १९ वटै सिटमा उम्मेदवारी दर्ता गराएको छ ।
सत्तारुढ गठबन्धनले १९ सिटमा साझा उम्मदेवार उठाएका छन् । काँग्रेसले ६ सिट लिएको छ भने माओवादी र एकीकृत समाजवादीले ५÷५ सिट पाएका छन् । जसपाले २ र राजमोले एक सिट गरी पाँच दलीय गठबन्धनले १९ सिटमा तालमेल गरेका छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल मजदुर किसान पार्टीले पनि दुई–दुई सिटमा उम्मेदवार उठाएका छन् ।
राष्ट्रियसभा सदस्यका लागि हरेक प्रदेशका उम्मेदवारलाई सो प्रदेशका प्रदेशसभा सदस्यहरु र पालिकाका प्रमुख–उपप्रमुखहरुले मतदान गर्ने संवैधानिक प्रावधान छ । यसका लागि माघ १२ गते हरेक प्रदेशमा मतदान हुनेछ ।
आयोगले प्रदेश नं १, २ र वाग्मतीमा त्रिपक्षीय प्रतिस्पर्धा हुने जानकारी दिएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा द्विपक्षीय प्रतिस्पर्धा हुनेछ । दावी विरोध लगायतको सबै प्रक्रिया पूरा गरेर आगामी पुस २५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुका साथै निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।