काठमाडौँ - छोटो समयपछि पुनः कोरोना भाइरसको सङ्क्रमण देखिएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कुनै स्वास्थ्य समस्या नदेखिएको ह्वाइट हाउसका चिकित्सकले जनाएका छन्। अमेरिकी राष्ट्रपति बाइडेनलाई नौ दिनपछि लगत्तै दोस्रो पटक कोभिड सङ्क्रमण देखा परेको चिकित्सकले पुष्टि गरेका थिए। त्यसलगत्तै उनी आइसोलेसनमा बसेका छन्।
जुलाई २१ मा कोरोना भाइरस सङ्क्रमण भएका उनी आइसोलेसनबाट निस्किएलगत्तै पुनः आइतबार उनी सङ्क्रमणमा परेका थिए। एक दिनमात्र अघि आइसोलेसनबाट निस्किएका उनलाई शनिबार परीक्षण गर्दा पुनः कोरोना भाइरस पोजेटिभ देखिएको ह्वाइट हाउसका चिकित्सक डा केभिन ओ कनरले जानकारी दिए।
डा कनरका अनुसार राष्ट्रपति बाइडेनलाई पुनः आइसोलसनमा बसेका छन्। तर, उनको स्वास्थ्य अवस्था राम्रो रहेको डा कनरले बताए। उनले एक सूचनामा राष्ट्रपति बाइडेन पुनः आइसोलेसनमा बसेको र उनले जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गर्ने भएको बताएका छन्।
७९ वर्षीय राष्ट्रपति बाइडेनले आफूलाई कोरोना भाइरस पोजेटिभ देखिएको तर कुनै पनि लक्षण नदेखिएको बताएका छन्। उनले ट्वीट गर्दै आफू स्वस्थ रहेको तर अरुलाई कसैलाई असर नगरोस भनेर आफू जनस्वास्थ्यका मापदण्डहरु अपनाएर आइसोलेसनमा बसेको बताए।