विजयी भएमा भ्रष्टाचारमुक्त महानगर बनाउने उमेदवार सिर्जना सिंहको भनाई

काठमाडौँ - सत्तारूढ गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी साझा उमेदवार सिर्जना सिंहले आफू विजयी भएमा भ्रष्टाचारमुक्त महानगर बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

शनिबार नेपाली कांग्रेसनिकट बुद्धिजीवी पेसाकर्मी परिचालक समिति काठमाडौंले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सिंहले आफू मेयरमा विजयी भएमा ‘काठमाडौं महानगरलाई भ्रष्टाचारको दुर्गन्धबाट मुक्त गराउने’ बताएकी हुन्। उनले डिजिटल प्रविधि अपनाएर घरैबाट जनताले सेवा लिने व्यवस्था गर्न आफू लागिपर्ने उल्लेख गरिन्।

सिंहले सबै महिलाको भावनालाई कदर गरेर अघि बढ्ने योजना पनि सुनाइन्। "मेरो पहिलो प्रतिबद्धता भनेको सुशासन हो। घरभित्र फोहोर छ भने बाहिर सफा भएर केही हुँदैन। त्यसकारण मेरो पहिलो प्राथमिकता सुशासन हुन्छ। त्यसका लागि मैले भ्रष्टाचारमुक्त महानगरपालिका बनाउनुपर्नेछ," उनले भनिन्, "आईटीको जमाना छ। डिजिटल प्रविधि अपनाएर जनताको काम घरबाट हुने व्यवस्था गर्नेछु। महिलाको समस्या बुझेकाले तत्काल समाधान गर्न पहल गर्नेछु।"

सिंहले आफूलाई नेपाली कांग्रेसले सर्वसम्मत रूपमा मेयरको उमेदवार बनाएको बताइन्। गणेशमान, मंगलादेवी सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती भएको नाताले मात्रै आफू मेयरको उमेदवारी नभएको उनको भनाइ थियो। उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएका गणेशमान, मंगलादेवी र प्रकाशमानको परिवारको सदस्य भएर राजनीतिक आन्दोलनमा सरिक हुन पाउनु आफ्ना लागि गौरवको विषय भएको पनि बताइन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×