काठमाडौँ - सरकारले नेपाल प्रहरीमा थपिएका तल्लो तहका तीन पदमा बढुवा प्रक्रिया सुरु गरेको छ। सरकारले प्रहरीका तल्लो तहमा लामो समयदेखि बढुवा नहुँदा मनोबल खस्किएको निष्कर्षसहित थप भएका पदमा बढुवा प्रक्रिया अघि बढाएको हो।
यो प्रक्रियामा प्रहरीका तल्ला तहमा रहेका तीन तहका २० हजार ४ सय १९ प्रहरीको बढुवा हुनेछ। बढुवा प्रक्रिया बिहीबारबाट नै सुरु भएको छ। सरकारले प्रहरी नियमावली, २०७१ को नवौं संशोधनमार्फत जवान र हबल्दारको बीचमा प्रहरी सहायक हबल्दार, हबल्दार र प्रहरी सहायक निरीक्षकको बीचमा प्रहरी वरिष्ठ हबल्दार तथा प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षकको बीचमा प्रहरी वरिष्ठ नायब निरीक्षक पद सिर्जना गरेको थियो।
यी नयाँ सिर्जना गरिएका पदमा एकैपटक बढुवा गर्न कार्यसम्पादन मूल्यांकन चाहिने भएकाले पहिलोपटकलाई वरिष्ठताका आधारमा बढुवा गर्ने प्रक्रिया थालिएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रहरी प्रशासन शाखाका उपसचिव गणेश गैह्रेका अनुसार नियमावली संशोधनपछि तीन पदमा गरेर २० हजार ४ सय १९ प्रहरीको बढुवा हुनेछ। आजको राजधानी दैनिकमा समाचार छ।