काठमाडौँ - कतारमा जारी फिफा विश्वकप अन्तर्गत पहिलो खेलमा जर्मनीलाई स्तब्ध बनाएको जापानले आज दोस्रो खेल खेल्दैछ। समूह 'ई' मा रहेको जापानले दोस्रो खेलमा कोस्टा रिकाको सामना गर्नेछ।
जापान र कोस्टा रिकाबीचको खेल अहमद बिन अली स्टेडियममा नेपाली समय अनुसार आज अपरान्ह ३:४५ बजेबाट सुरु हुनेछ।
कोस्टा रिकाविरुद्ध मैदानमा उत्रदाँ जापानको लक्ष्य लगातार दोस्रो जित हुनेछ। पहिलो खेलमा जर्मनीलाई २-१ ले पराजित गरेको जापानले दोस्रो खेलमा कोस्टा रिकालाई पराजित गरे उसको नकआउट चरणको सम्भावना बलियो हुनेछ।
यता पहिलो खेलमा स्पेनसँग ७-० ले पराजित भएको कोस्टा रिका भने पहिलो जितको खोजीमा रहेको छ। जापानलाई पराजित गरेर कोस्टा रिका अन्तिम १६ को सम्भावना जिवित राख्न चाहन्छ।
यस समूहमा समान ३-३ अंक भएपनि गोल अन्तरको आधारमा स्पेन शीर्ष स्थानमा रहेको छ भने जापान दोस्रो स्थानमा रहेको छ। जर्मनी र कोस्टा रिका अंक विहिन रहेका छन्।