ज्ञानेन्द्र मल्लः जसको कप्तानी खोसिए सँगै टिमबाट नामोनिसान मेटाइँदै छ

काठमाडौँ - क्रिकेटर ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रनको योगदान गरेपनि नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय खेल ९९ रनले पराजित हुन पुग्यो। सो खेल थियो, युएईमा भएको आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको। 

नेपाल, पपुवा न्यूगिनी र युएई सम्मिलित उक्त सिरिज अन्तर्गतको नेपाल र युएईबीच मार्च २१ मा भएको थियो। र ज्ञानेन्द्रले नेपालका लागि जोडेको सर्वाधिक ३० रन नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि अन्तिम नै हुन सक्ने खतरा बढेको छ। युएईपछि सिरिज अन्तर्गत नेपालले अन्तिम खेल पीएनजीविरुद्ध खेलेको थियो र उक्त खेलका लागि ज्ञानेन्द्र प्लेइङ-११ मा समेटिएनन्। उक्त खेल नेपालले सात विकेटले जितेको थियो। 

युएईमा भएको त्रिकोणात्मक सिरिजपछि नेपाली पुरुष टिमले ५ वटा क्रिकेट सिरिज खेलिसक्यो तर ज्ञानेन्द्र एउटा खेलमा पनि टिममा अटाउन सकेनन्। त्यतिमात्र नभएर नेपालले जुलाईमा क्यानाडामा एकदिवसीय सिरिज तथा स्कटल्यान्डमा खेल्ने एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि पनि ज्ञानेन्द्रलाई टिममा समेटिएको छैन।
युएईमा भएको सिरिज लगतै नेपाल क्रिकेट संघ (क्यान) ले मार्च २५ र २६ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीविरुद्ध दुई खेलको एकदिवसीय सिरिज आयोजना गर्‍यो तर पनि ज्ञानेन्द्र टिममा अटाएनन्।

लगतै त्रिवि मैदानमै मार्च २८ देखि अप्रिल ४ सम्म नेपाल, मलेसिया र पीएनजीबीच त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज भयो, त्यसका लागि पनि छनोटकर्ताले ज्ञानेन्द्रलाई नेपाली टिममा ठाउँ दिएनन्। त्यसपछि क्यानले त्रिवि मैदानमै मे १ देखि ९ तारिखसम्म जिम्बावे ‘ए’ सँगको टी-२० र एकदिवसीय सिरिज आयोजना गर्‍यो र ती दुबै सिरिजमा पनि ज्ञानेन्द्रले स्थान पाएनन्।

आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि भर्खरै नेपाली टिमले अमेरिकाको भ्रमण गर्‍यो। नेपाल, ओमान र अमेरिकाबीच भएको सिरिजका लागि पुनः ज्ञानेन्द्रलाई टिम बाहिरै राखियो। 

खासमा खेलाडी आचारसंहिता उल्लंघन गरेको भन्दै क्यानले २०२१ डिसेम्बर १५ मा ज्ञानेन्द्रको कप्तानी पद खोसेको थियो। 

कप्तान पद गुमाएका ज्ञानेन्द्र भने फेब्रुअरी ११ देखि १४ तारिखसम्म ओमानमा भएको चारदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि सन्दीप लामिछानेको कप्तानीमा घोषणा भएको टिममा समेटिएसाथै ओमानमै फेब्रुअरी १८ देखि भएको आईसीसी पुरुष टी-२० विश्वकप छनोटका लागि ज्ञानेन्द्र टिममा समेटिएका थिए। 

त्यसपछि उनी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजका लागि युएईको भ्रमण गर्ने मौका पाए र पछिल्लो समयमा नेपाली टिमका लागि भइरहेको खेलाडी छनोटले ज्ञानेन्द्रका लागि युएई भ्रमण नै अन्तिम हुन सक्ने संभावना देखिदैछ।

तर क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल भने ज्ञानेन्द्रको नेपाली टिममा पर्ने सम्भावनाको अन्त्य नभएको बताउँछन्। ‘खेलाडीले खेलुन्जेल छनोट हुने सम्भावना सकिदैन,’ मल्लले भने। मल्लका अनुसार खेलाडी छनोटमा मुख्य प्रशिक्षक तथा छनोट समितिको हात रहेको हुन्छ। ‘खेलाडी छनोटमा क्यानको कुनै हात हुँदैन, मुख्य प्रशिक्षक तथा छनोटकर्ताले विभिन्न आधार हेरेर छनोट गर्छन्,’ प्रशान्त विक्रम मल्लले थपे। 

यता ज्ञानेन्द्रले पनि टिमका लागि खेल्न जहिले पनि तयार रहेको बताइरहेका छन्। र उनी अहिले नै क्रिकेट छाड्ने अवस्था नआएको समेत बताउदै आएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×