इक्वेडरका डिफेन्डर मारियो पिनेइडाको गोली हानी हत्या

काठमाडौँ । इक्वेडरका डिफेन्डर मारियो पिनेइडाको ३३ वर्षको उमेरमा गोली हानी हत्या गरिएको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार उनलाई इक्वेडरको ग्वायाक्विल शहरको उत्तरी भागमा बुधबार मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरेका हुन्।

घटनाका क्रममा पिनेइडाको आमा र अर्की एक महिलामाथि पनि गोली चलाइएको जनाइएको छ। इक्वेडरको गृह मन्त्रालयले घटनाको अनुसन्धानका लागि विशेष प्रहरी इकाई परिचालन गरेको जनाएको छ।

ग्वायाक्विल पछिल्लो समय गिरोह हिंसा र लागूऔषध तस्करीको केन्द्र बन्दै गएको छ। जनवरीदेखि सेप्टेम्बरसम्म मात्र उक्त शहरमा १ हजार ९ सयभन्दा बढी हत्या भएका छन्, जुन देशकै सबैभन्दा उच्च संख्या हो। यसअघि सेप्टेम्बरमा तीन जना दोस्रो श्रेणीका फुटबल खेलाडीको हत्या भएको थियो भने अक्टोबरमा एक स्थानीय खेलाडी गोली लागेर घाइते भएका थिए।

पिनेइडाले सन् २०१४ देखि २०२१ सम्म इक्वेडर राष्ट्रिय टोलीका लागि नौ खेल खेलेका थिए। उनले क्लब करियर इन्डिपेन्डिएन्टे डेल भालेबाट सुरु गरेका थिए र सन् २०१६ मा ग्वायाक्विलस्थित बार्सिलोना एससीमा आबद्ध भएका थिए। उनले विभिन्न क्लबमा लोनमा समेत खेल खेलेका थिए।

उनको हत्यापछि बार्सिलोना एससीले विज्ञप्ति जारी गर्दै घटनालाई अत्यन्त दुःखद भन्दै गहिरो शोक व्यक्त गरेको छ। इक्वेडरियन फुटबल महासंघले पनि हिंसाको निन्दा गर्दै पिनेइडाको परिवारप्रति समवेदना जनाएको छ।


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×