भीड
-कृपया भीडतिर नजानुहोस्!
भीड-
असंख्य उत्तेजना र कुण्ठाले निर्माण भएको हुन्छ।
भीड-
जड् चिन्तन र अस्थिर मनस्थितिले निर्माण भएको हुन्छ।
हेर्दा-
बहुल विचारको पुञ्ज जस्तो देखिएपनि
भीड एक्लो र वेवारिसे हुन्छ।
हेर्दा-
जीवन्त र गतिशील जस्तो देखिएपनि
भीड निर्जीव हुन्छ।
भीड-
संवादै संवादको संवादहिनता हो।
भीड-
असंख्य हल्लाहरुको एकल मौनता हो।
भीड-
अस्तित्वको अमूर्त अवसान हो।
भीडको आफ्नो अनुहार हुँदैन
भीडको आफ्नो पहिचान हुँदैन।
हेर्दा-
रोमाञ्चक देखिएपनि
भीड निरस हुन्छ।
हेर्दा-
स्वतन्त्र र सार्वभौम देखिएपनि
भीड पराधीन र पराश्रित हुन्छ।
भीड-
बाढी-पहिरो र र भूकम्प जस्तै हुन्छ
भोक-रोग-र र प्रकोप जस्तै हुन्छ!
भीड-
मान्छेहरुका लागि
अत्यन्त खतरनाक हुन्छ।
-कृपया भीडतिर नजानुहोस्!
किनकि-
भीडले भीडलाई कुल्चेर मार्ने गर्छ!