काठमाडाैँ - अर्जेन्टिनालाई विश्वकप जिताएका लियोनल मेस्सीलाई उनको क्लब पेरिस सेन्ट जर्माँ (पीएसजी) ले सम्झौता अवधि लम्ब्याउने अपेक्षा गरेको छ। सन् २०२३ को जुन ३० मा पीएसजीसँग मेसीको सम्झौता सकिँदैछ। त्यसैले उनलाई क्लबमै राखिरहनका लागि व्यवस्थापन पक्षले कोशिश बढाएको छ।
मेस्सीले विश्वकप जितेको हेर्नका लागि पीएसजीका अध्यक्ष नासेर अली-खिलाफी लुसेल स्टेडियम पुगेका थिए। मेस्सीलाई बधाई दिने क्रममा अली-खिलाफीले उनको भविष्यका विषयमा कुरा गर्ने एक बैठकमा उपस्थित हुन अनुरोध गरेको बुझिएको छ।
विश्वकप जित्नुअघि नै मेस्सीले आफ्नो नम्र व्यवहार तथा प्रतिबद्धताका साथ पीएसजी व्यवस्थापनलाई प्रभावित पारिसकेका थिए। पीएसजीले मेस्सी र किलियन एम्बाप्पे आफ्नो क्लबबाट खेलिरहून् भनी अपेक्षा गरेको छ।