काठमाडौँ - कप्तान आयुष घलानको उत्कृष्ट प्रदर्शनमा नेपालले यू-२० साफ च्याम्पियनशिप फुटबलको दोस्रो खेलमा श्रीलंकालाई ३-० अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ।
कप्तान आयुषले १ गोल र १ असिस्ट गरेपछि बुधबार राति भारतको भुवनेश्वरस्थित कालिङा रंगशालामा नेपाल लगातार दोस्रो जित निकाल्दै शीर्षस्थानमा पुग्न सफल भएको छ।
नेपालको जितमा आयुष, कृतिशरत्न छुन्जु र मनग्य नकर्मीले समान १-१ गोल गरेका थिए। जितसंगै नेपाल ६ अंक सहित शीर्ष स्थानमा पुगेको छ। लगातार दोस्रो हारसंगै श्रीलंका बिना अंक पुछारमा रहेको छ।
बुधबार नै भएको पहिलो खेलमा घरेलु टोली भारतलाई २-१ अन्तरले पराजित गर्दै बंगलादेशले लगातार दोस्रो जित निकालेको छ। यद्यपि नेपालको जितसँगै बंगलादेश गोल अन्तरका आधारमा तालिकाको दोस्रो स्थानमा झरेको छ।
यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो। अहिलेसम्म सात गोल गरिसकेको नेपालले कुनै गोल खाएको छैन। पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १-० गोल अन्तरले हराएको थियो।
नेपालले अब तेस्रो खेलमा भारतसँग आइतबार खेल्नेछ। अन्तिम खेलमा बंगलादेशसँग मंगलबार खेल्नेछ।
नेपाल, आयोजक भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेश गरी ५ टोली सहभागी प्रतियोगिताको शीर्ष २ टोलीले अर्को शुक्रबार उपाधिका लागि फाइनल खेल्नेछन्।