काठमाडौँ - नेपाली छोटो चलचित्र ‘सर्भाइभल-लिभिङ थ्रु कोभिड’ ले युरोपेली मुलुक इटलीमा आयोजना गरिएको ‘अल्बोरी सोलप्लेस फिल्म फेस्टिभल’ महोत्सवमा पुरस्कार हात पार्न सफल भएको छ।
अफजल खानद्वारा निर्देशित ३ मिनेट ५० सेकेन्ड लामो सो चलचित्रले ‘उत्कृष्ट छायाँङ्कन’ विधामा पुरस्कार पाएको हो। यो चलचित्र ड्रिम भिजन स्टुडियोले निर्माण गरेको हो।
चलचित्रमा कोभिड महामारीमा नेपाली जनताले भोगेका समस्या, बाँच्नका लागि उनीहरुले गरेको सङ्घर्ष र कोभिडलाई जितेको भोगाइ देखाइएको निर्देशक-निर्माता किशोर श्रेष्ठले बताएका छन्। चलचित्रमा संवादको प्रयोग नगरिएको निर्देशक श्रेष्ठले जानकारी दिएका छन्।
उनका अनुसार कोभिडजस्तो महामारीबीच मानव जातिले गरेको सङ्घर्ष र जीवन उत्थानशीलता नै यो चलचित्रको मुख्य सन्देश हो। यो चलचित्र यसअघि फ्रान्सको प्रसिद्ध ‘कान्स वल्र्ड फिल्म फेस्टिभल’मा ‘उत्कृष्ट कोभिड विषयक चलचित्र’ विधामा पुरस्कृत भइसकेको छ।