नेपाली दूतावास डिसीमा सुर-सुधा समूहको बेजोड प्रस्तुति

काठमाडौँ - अमेरिका भ्रमणमा रहेको नेपालको सुर-सुधा समूहले नेपाली दूतावास वाशिंगटन डिसीमा साङ्गीतिक साँझ कार्यक्रममा बेजोड प्रस्तुति दिएको छ।

सुर-सुधाको उत्कृष्ट प्रदर्शनमा अतिथिहरुले कर्तल ध्वनिका साथ सम्मानसमेत गरेका थिए। नेपाल र संयुक्त राज्य अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा दूतावासले अमेरिकी सरकारका विभिन्न विभाग, कूटनीतिक निकाय वाशिङटन, डीसी र कूटनीतिक निकायका अतिथिहरूका बीच पौराणिक नेपाली शास्त्रीय संगीत मण्डली (ब्यान्ड) सुर सुधा समूहको सांगीतिक साँझको आयोजना गरेको थियो।

बिहिबार साँझ दूतावास​मा आयोजना गरिएको सुर सुधा समूहका कलाकारहरुमा तबलामा संस्थापक तथा प्रमुख सदस्य सुरेन्द्र श्रेष्ठ, बाँसुरीमा रमण महर्जन, गितारमा विकास सुनार र स्वरमा सरस्वती खत्रीले प्रस्तुति दिएका थिए। उक्त कार्यक्रममा नेपालका लागि पूर्व राजदूत स्कट डेलिसी लगायत अन्य राजदूतहरुको पनि उपस्थिति रहेको थियो। अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले सबै अतिथिलाई स्वागत गरेका थिए।

डेलिसीले सुर-सुधाको प्रस्तुतिलाई मुक्त कण्ठले प्रशंसा गरेका थिए। सुर-सुधा समूह अमेरिकाको विभिन्न राज्यहरुमा नोभेम्बरको अन्त्य सम्म आफ्नो प्रस्तुति गर्ने छन्। अमेरिकाको विभिन्न राज्यहरुमा प्रस्तुति गर्ने सिलसिलामा गत बुधबार भर्जिनियाको फ्रेडिक्सबर्ग स्थित हिमालयन हेरिटेजमा सुर सुधाले अद्वितीय प्रस्तुति गरेको थियो।

सुर सुधाले विगत ३ दशक देखि बिश्वभरि नेपाल र नेपालीको पहिचान गराउदै संसारका बिभिन्न मुलुकहरुमा संगीत प्रस्तुत गरि नेपालको नाम उच्च राख्न सफल भएका छन्। प्रारम्भमा  शास्त्रीय संगीत मात्र प्रस्तुति गर्दै आएको सुर सुधाले धेरै बर्ष देखि गीत गाउने कलाकारहरुलाई समेत जोडेको छ।

गत बुधबार भर्जिनियाको फ्रेडिक्सबर्गमा नेपालको लागी पूर्व अमेरिकी राजदूत स्कट डेलिसीको सहयोगमा अमेरिका नेपाल सोसाइटी (एएनएस)को संयोजनमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×