भक्तपुर - आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्र छपाइको काम सुरु भएको छ। भक्तपुरको सानोठिमी स्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा नेपाली सेनाको सुरक्षा घेराका बीच मतपत्र छपाई सुरु गरिएको हो।
आगामी निर्वाचनका लागि ५०३ प्रकारको मतपत्र छपाई भइरहेको आयोगका सहप्रवक्ता ऋषिराम भुसालले रातोपाटीलाई जानकारी दिए। निर्वाचन क्षेत्रगत रुपमा छपाई गर्नुपर्ने भएकोले मतपत्रको प्रकार बढेको हो। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४९५ प्रकारको मतपत्र, प्रदेश सभातर्फ फरक–फरक ७ प्रकारको मतपत्र छपाई भइरहेको छ। यस्तै समानुपातिक तर्फ ८ प्रकारको मतपत्र छपाई गरिएको उनले बताए।
प्रत्यक्ष तर्फको मतपत्र झन्डै १ महिनाभित्र प्रकाशन गरिसक्ने आयोगको तयारी छ। आयोगले समानुपातिक प्रणाली तर्फको झन्डै २ करोड हाराहारीको मतपत्र छपाई गरिसकेको छ।