हलहरुले पर्याप्त शो नदिएको भन्दै चलचित्र निर्माण टिमले रोक्यो ‘राधा’को प्रदर्शन

काठमाडौँ - गत शुक्रबारबाट नेपालभर प्रदर्शनीमा आएको नेपाली चलचित्र राधाले आफ्नो प्रदर्शनी रोकेको छ। मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माण टिमले प्रदर्शन रोक्ने घोषणा गरेको हो।

चलचित्रलाई सिनेमा हलहरुले शोजमा अन्याय गरेको उनीहरुको आरोप छ। शुक्रबार ४५ शो पाएको चलचित्रले शनिबार ५० शो र तिजको दिन ५५ शोभन्दा माथि पाउने आश गरे पनि अपेक्षाकृत रुपमा हलहरुले शो नदिएको उनीहरुको आरोप छ।

नेपाली फिल्म राधाले दर्शकको राम्रो प्रतिक्रिया पाएको तर हलहरुले प्रदर्शनको समय नदिएको उनीहरुको गुनासो छ। पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्देशक सुवर्ण थापाले हलहरुले दर्शक जाँदाजाँदै पनि शो घटाएर अन्याय गरेको बताएका छन्।

उनले फिल्म लामो समयसम्म चल्ने अपेक्षा राखेको र दर्शकहरु आइरहेको बेलामा शो नै नदिनु नेपाली चलचित्र क्षेत्रमै अन्याय भएको बताएका छन्। आफूसँगै प्रतिष्पर्धामा रहेको ‘प्रकाश’ चलचित्रले पनि पत्रकार सम्मेलन गरेपछि मात्रै केही शोहरु बढाएको उनले बताए। त्यस्तै, अभिनेता सौगात मल्लले हलहरुले शो नदिए वैकल्पिक उपाय सोच्नुपर्ने बताएका छन्।

अभिनेत्री श्रृष्टि श्रेष्ठले अब चाँडै अर्को विकल्प खोजेर दर्शकसामु पुग्ने बताइन्। उनले वैकल्पिक उपायबाट दर्शकसँग जोडिने बारेमा छलफल भइरहेको र अन्यायमा पर्ने अन्य फिल्महरुका बारेमा यसले सहयोग पुग्ने बताएकी छिन्।

सुवर्ण थापाको निर्देशन रहेको फिल्ममा सौगात र श्रृष्टी बाहेक दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्यदेव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायतका कलाकारको अभिनय रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×