काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा तरकारीको मूल्यमा अत्यधिक वृद्धि भएको पाइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको प्रथम चौमासिक मूल्य विश्लेषण प्रतिवेदन अनुसार केही तरकारीको मूल्य ८०० प्रतिशतसम्म बढेको छ।
साउनदेखि कात्तिकसम्मको अवधिमा तिते करेला र बोडी (तने) को मूल्य सबैभन्दा बढी बढेको छ। यस्तै, काँक्रो (हाइब्रिड) ६५० प्रतिशत, हरियो धनियाँ ४८३ प्रतिशत र पुदिना ४१५ प्रतिशतले महँगिएको विभागको तथ्याङ्कमा उल्लेख छ।
मौसम प्रतिकूलता, वर्षायामका कारण उत्पादन र ढुवानीमा समस्या, चाडपर्वको बढ्दो माग तथा इन्धन र अमेरिकी डलरको विनिमय दर वृद्धिले तरकारीको मूल्य बढाएको प्रतिवेदनमा जनाइएको छ। यद्यपि, राजा च्याउ, मेवा, ताजा माछा र चाइनिज लसुनको मूल्यमा भने सामान्य मात्र वृद्धि देखिएको छ।
खाद्यान्नतर्फ चामल, दाल र गेडागुडीको मूल्यमा भने मिश्रित प्रभाव देखिएको छ। विभागले बजारमा बिचौलियाको प्रभाव पनि मूल्य वृद्धिको अर्को कारण रहेको उल्लेख गर्दै अनुगमन कडा बनाउने, अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्ने र कृत्रिम अभाव रोक्ने नीति अपनाउने जनाएको छ।