काठमाडौँ- फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा फरवार्ड किलीयन एमबाप्पे फ्रान्सको शीर्ष डिभिजन लिगमा दुर्लभ कीर्तिमान रच्ने संघारमा पुगेका छन्।
पिएसजीलाई लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका एमबाप्पे हाल लिगको सर्वाधिक गोलकर्ता र सर्वाधिक असिस्ट दिने दुवै सूचिको शीर्ष स्थानमा छन्। लिगको अन्त्यसम्म यो स्थानलाई कायम राख्न सके उनी एकै सिजनमा दुवै सूचिको शीर्षस्थानमा रहने पहिलो खेलाडी बन्नेछन्। उनको यो कीर्तिमानमा उनकै सहकर्मी लिओनेल मेस्सी र रेन्नेसका मार्टिन टेरिएर बाधक बन्न सक्छन्।
एमबाप्पेले यसै साता स्ट्रासबर्गविरुद्ध भएको ३-३ को बराबरीमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। उक्त खेलमा २ गोल गर्दै उनले सिजनमा गोल संख्या २४ पुर्याए। एम्बापपेले लिगमा १५ असिस्ट पनि दिएका छन्। पछिल्लो समय आफूलाई विश्वकै उत्कृष्ट फरवार्डमध्य स्थापित गराएका उनले पछिल्लो ४ सिजन लिगको सर्वाधिक गोलकर्ताको उपाधि जितेका थिए। उनले सन् २०१८ मा पिएसजीमा अनुबन्धित भएयता ३३, १८ र २७ गोल गरेका छन्।
एमबाप्पेलाई सर्वाधिक गोलकर्ता बन्ने सुचिमा टेरिएरले पछ्याएका छन्। उनले लिगमा २१ गोल गरेका छन्। पिएसजी र रेन्नेस दुवैले ३५-३५ खेल खेल्दा अब लिगमा ३-३ खेल बाँकी छन्।
यस्तै एमबाप्पेलाई असिस्टको प्रतिस्पर्धामा मेस्सीले पछ्याएका छन्। मेस्सीले १३ असिस्ट दिँदा एमबाप्पेको नाममा १५ असिस्ट रहेको छ।