काठमाडौँ - पूर्खाको जीवनशैली र तत्कालीन समयको पहिचान दिने टुकी र दियालो बाल्ने परम्परा लोप हुन थालेको छ।
म्याग्दीका गाउँगाउँमा तीव्रगतिमा भइरहेको विद्युत् विस्तार र वैकल्पिक ऊर्जाको प्रयोगसँगै ती परम्परा हराउँदै गएको हो। डेढ दशकअघिसम्म जिल्लाका ग्रामीण क्षेत्रमा देखिने आरन पनि पछिल्लो समय विस्थापित भएका छन्। आयातित कृषि औजारको प्रयोग गर्ने चलन सुरु भएपछि परम्परागत कृषि औँजार निर्माण गरिने आरन पेसा हराउँदै गएको आरन पेसा सञ्चालन गर्ने विश्वकर्माले बताएका छन्।
जिल्लाका ग्रामीण क्षेत्रका सबै स्थानमा विद्युत् पुगिनसके पनि भनेको बेलामा मट्टितेल नपाइने र पहिलेजस्तो सल्लाको रुखबाट दियालोसमेत निकाल्न नपाइने भएकाले अँध्यारोमा टुकी र दियालो बाल्ने परम्परा लोप हुन लागेका हुन्। “गाउँगाउँमा पुगेको विकासका कारण जिल्लाको ग्रामीण क्षेत्रका सर्वसाधारण हिजोआज टुकी र दियालोको साटो उज्यालोका लागि सोलार प्यानल प्रयोग गर्छन्” धवलागिरि गाउँपालिका– ७ का प्रकाश सुवेदीले भने, “एकपटक सोलार जडान गरेपछि अन्य कुनै खर्च नलाग्ने, आफूलाई चाहिएको समयमा तत्काल बाल्न सकिने र धेरै समयसम्म टिकाउसमेत हुने भएकाले उनीहरुको आकर्षण बढेर गएको हो।”
पुस्तौंदेखि टुकी र दियालो बालेर गुजारा गर्दै आए पनि पछिल्लो समयमा भएको विद्युत् विस्तार र वैकल्पिक ऊर्जाको विकासले यी लोप भएको उनले बताए।