काठमाडौँ- विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट दुई करोड ३१ लाख रुपैयाँ ठग्ने एक महिलालाई प्रहरीले काठमाण्डौको स्वयम्भूबाट पक्राउ गरेको छ। पोखरा घर भएकी ३७ वर्षकी डाक्टर क्रिष्टना गुरुङ नाम राखेकी कान्ति राना गुरुङले जर्मनी पठाइदिने भन्दै एक व्यक्तिबाट १४ लाख रुपैयाँ लिएर ठगी गरेको उजुरीपछि पीडितको जाहेरी अनुसार प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई गएको आइतवार पक्राउ गरेको थियो।
उनको कोठामा छापा मार्दा २१ वटा राहदानी, नाता प्रमाणित प्रमाणपत्र, अविवाहित प्रमाणपत्र, प्रहरी चारित्रिक प्रमाणपत्र लगायतका कागजात बरामद भएको प्रहरीले जनाएको छ।
अहिलेसम्म कान्ति गुरुङबाट ठगिएका ३६ जना व्यक्ति सम्पर्कमा आएका र उनीहरुबाट दुई करोड ३१ लाख रुपैयाँ रकम लिएर ठगेको पाइएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ। उनले अरु व्यक्तिलाई पनि ठगेको हुन सक्ने शङ्कामा प्रहरीले जिल्ला अदालत काठमाण्डौबाट पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।