काठमाडौँ । सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ।
साथै, २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरु बन्द गराएको छ। सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै यही पुस २६ गतेबाट गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुमार्फत् सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि ८ बुँदे आदेश जारी गरेको छ।
सङ्क्रमण बढ्दै गएको अवस्थामा सरकारले गरेका पछिल्ला निर्णयले फेरि पनि बन्दाबन्दी (लकडाउन) हुने हो कि भन्ने चिन्ता आम सर्वसाधारणमा देखिन थालेको छ। सङ्क्रमणको पहिलो र दोस्रो लहरमा बन्दाबन्दी भोग्नु परेका नेपालीहरुमा फेरि त्यस्तो अवस्था आउने त होइन भन्ने चिन्ता छाएको देखिएको हो।
पुस २३ गते १४ हजार ९७१ जनामा परीक्षण गरेकामध्ये २६२ कोरोना भाइरसका सङ्क्रमित रहेकोमा पुस २६ गते हिजो ११ हजार ४२९ परीक्षण गरेकामध्ये एक हजार ४४६ सङ्क्रमति देखिएका छन्। साथै, नेपालमा हाल सात हजार ८५५ सक्रिय सङ्क्रमति पुगेका छन्।
यसरी अहिले दैनिक सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ।