पछिल्लो २४ घण्टामा ७८१ मा सङ्क्रमण, दुईको मृत्यु

काठमाडौँ - देशभर पछिल्लो २४ घण्टामा सात सय ८१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ। सो अवधिमा चार हजार सात सय १२ जनाको नमूना परीक्षण गरिएको थियो।

दुई हजार दुई सय ९० जनाले पिसीआर र दुई हजार चार सय २२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा २३ हजार आठ सय एक जनाले कोभिड विरुद्धको खोप लगाएका छन्। सो अवधिमा पाँच सय ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७४ हजार आठ सय छ पुगेको छ। सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार सात सय ७५ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ८४ पुगेको छ। होम आइसोलेशनमा पाँच हजार पाँच सय ६५, संस्थागत आइसोलेसनमा दुई सय १०, आइसीयू ६३ र भेन्टिलेटरमा आठ सङ्क्रमित रहेका छन्।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् भने दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ रहेको छ। शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, कालिकोट र हुम्ला छन्। उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार आठ सय ६४,  ललितपुर आठ सय ९३ र भक्तपुरमा ८८ सक्रिय सङ्क्रमित रहेका छन्। कुल सङ्क्रमण दर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×